न्यायालयमा विचलन बढ्यो, न्यायालय स्वच्छ हुनसकेन । यो आमचासोको विषय हो । यो विषयलाई सरकारले, संसदले संविधानअनुसार संवोधन गर्नुपर्छ । न्यायपूर्ण समाजको सृजना गर्न सक्नुपर्छ ।
अचम्म, अधिवक्ताहरु प्रधानन्यायाधीशले भ्रष्टाचार बढाए भनेर आन्दोलित छन् । प्रधानन्यायाधीशलाई सर्वोच्चमै छिर्न नदिनेसम्मका आन्दोलनका कार्यक्रम ल्याइरहेका छन् । सर्वोच्च परिसरभित्रै प्रधानन्यायाधीशविरुद्ध भाषणबाजीदेखि कुस्तीबाजीसम्म गरिरहेका छन् ।
सभ्य समाजमा, लोकतान्त्रिक परिपाटी यही हो त ?
निश्चय नै प्रधानन्यायाधीश सर्वोच्च अदालतका अगुवा हुन् । उनी ठिक भए अदालत पवित्र हुनसक्छ । यसमा दुईमत छैन । तर प्रश्न के पनि छ भने हरिकृष्ण कार्कीको अध्ययन रिपोर्टअनुसार सर्वोच्च अदालतभित्र भ्रष्टाचार छ, अनियमितता छ । यो भ्रष्टाचार, अनियमितता बढाउने सेटिङ्कर्ताहरु न्याय परिषद हो, नेपाल बारका सदस्य हुन्, अधिवक्ताहरु हुन् । सेटिङमा न्याय प्रणाली चलाइँदा भ्रष्टाचार बढेको हो ।
अर्थात् दोष प्रधानन्यायाधीशको मात्र छैन । हो, बढी जिम्मेवार प्रधानन्यायधीश हुन् । उनले सर्वोच्च अदालतको पवित्रता, स्वच्छता र स्वतन्त्रता बचाउन सकेनन् । बचाउने प्रयासमा अन्य १९ न्यायाधीश र अधिवक्ताहरुले पनि सकेनन् । कसैको बढी दोष, कसैको कम दोष होला, तर दोषी सबै छन् । सबे छन् भने सामुहिक रुपमा स्वच्छता कायम गराउने प्रतिवद्धता किन आउन सकेन ? खाली प्रधानन्यायाधीशले राजीनामा दिदैमा सर्वोच्च अदालतमा स्वच्छता आउन सक्छ त ?
यसकारण थप प्रश्न उठेको छ, अदालतभित्र पार्टी राजनीति चलिरहेको छ । प्रधानन्यायाधीश फेरेर आफ्नो सेटिङ् कायम गर्ने गराउने साजिस भइरहेको छ । सवाल रोगको निदान र प्रदूषणबाट निर्मलीकरण हो । रोग कायम रहने र एक व्यक्तिको प्रतिस्थापन हुँदैमा सर्वोच्च सुध्रिनेवाला छ भनेर कसैले पनि विश्वास गर्न सक्दैन । सर्वोच्च अदालतमा सेटिङ छ, भ्रष्टाचार छ भनेर प्रमाणित भइसक्यो । यसकारण सर्वोच्चलाई सवोच्चतामा राख्ने हो भने सामुहिक प्रयास र प्रतिवद्धता जरुरी छ । एक व्यक्ति मूर्दावाद भनेर अर्कोलाई ल्याउनु भनेको फेरि पनि भ्रष्टाचार बढाउनु नै हो ।
प्रधानन्यायाधीश फेरौं, न्यायाधीशहरु पनि फेरौं । यही परिपाटी र यिनै व्यक्तिहरु न्यायालयमा रहने हो भने एक व्यक्तिको परिवर्तनले सर्वोच्चभित्रको फोहर बढारिने सम्भाबना नै छैन । एक व्यक्तिलाई फेर्नु भनेको सर्वोच्चभित्रको काई लागेको भ्रष्टाचारलाई विषयान्तर गरेर एकटोलीको विदाई र अर्को टोलीको सेटिङ् व्यभिचार बढाउनु मात्र हुनेछ । भ्रष्टाचार छ, यी न्यायाधीशरु किन भ्रष्टाचारमा सहभागी भइरहे । यिनको विवेकले किन बोल्न सकेन । यिनीहरु सबैमा दोष छ । सर्वोच्चलाई मन्दिरजस्तो पवित्र बनाऔं । यसका लागि सम्पत्ति छानबिन देखि सबै प्रकारका खरी घसौं ।