परराष्ट्र मन्त्रालयले खाली २३ राजदूतहरू नियुक्त गर्ने होमवर्क सुरू गरेको छ । २३ मध्ये १६ राजदूत मन्त्रीको कोटा नपुगेका पार्टीहरूलाई भाग दिने र ७ जनामात्र परराष्ट्रका कर्मचारीलाई नियुक्त गरिने कुरा रहेछ । ती कर्मचारीमा समेत कुन नेताको सिफारिस भनेर नापतौल हुनथालेको छ । यस्तो ताल चालले परराष्ट्र कसरी सवल हुनसक्छ ?
५ दलीय गठबन्धन सरकार हो यो । पूर्वसरकारले राजनीतिकरण ग¥यो, विधिको शासन चलाउन सकेन भनेर आलोचना गर्ने यिनै हुन् । यिनैले फेरि पनि राजनीतिक भागबण्डामै राजदूत नियुक्त गर्ने हो भने फरक के भयो ? अझ संवैधानिक र अन्य निकायहरूमा समेत पार्टीका सिफारिसमा नियुक्त गर्ने प्रपञ्च जारी छ । योग्यता नहेर्ने, सही व्यक्तिलाई सही जिम्मेवारी नदिने, जवाफदेही कसैले लिनु नपर्ने र संविधानलाई यसैगरी राजनीतिक खेलौना बनाउने हो भने यो लोकतन्त्र नभएर निरङ्कुश तन्त्र हुनजान्छ । मन्त्री नियुक्तीमा जे देखियो, अन्य नियुक्तीहरूमा जे देखिदैछ, त्यो भागबण्डातन्त्रमात्र देखिदैछ । मुलुकको शासन र प्रशासन भागबण्डाले चल्नु भनेको विधिको शासन मरेतुल्य हुनु हो । यो कोटा सिस्टम गलत हो ।
गलत भन्ने कोही छैनन् । नागरिक समाज र विवेकशीलहरूले विवेक बोल्नुपर्ने हो । कोही पनि बोल्दैनन् । बुद्धिजीवी छन्, सबै पार्टी पार्टीमा विभाजित छन् । पार्टीको झोला बोक्नेलाई बुद्धिजीवी मान्नु र नागरिक समाज समेत विभाजित हुनु दुःखद दृश्य हो । योग्यताको कदर नहुनुले मुलुक कमजोर हुँदै गएको छ भन्ने बुझ्ने कहिले ? विचारक, थिङ्क टेङ्कहरू छन् भने के हेरिरहेका छन् ? परराष्ट्रका अनुभवी नै भन्न थालेका छन्– राम्रो फालेर हाम्रो च्याप्नाले शासन प्रशासन र परराष्ट्रनीतिमा समेत क्षमता क्षीण हुँदैछ । कुनै पनि मुलुकमा राजदूत नियुक्त गर्दा क्षमता र योग्यता हेरिनैपर्छ, राजदूतजस्तो पद पार्टीको कोटामा नियुक्त गरिनु दुर्भाग्यजनक छ । कूटनीतिक मामिला कोटाका नियुक्त पाउनेबाट चल्न सक्दैन ।
प्रम शेरबहादुर देउवा, प्रचण्ड, माधवकुमार नेपाल, उपेन्द्र महतोमात्र होइन, अन्य दलका सहयोगीहरू समेत सहयोग चाहिन्छ भने हाम्रा मान्छेलाई राजदूत र संवैधानिक निकायमा नियुक्ति चाहियो भन्न थालेका छन् । कर्मचारीसमेत राजनीतिक नेतालाई च्यापेर भनसुन गराउन थालेका छन् । मानौं राजदूत भनेको धान गोदामको कुपन हो, कुपन पाएपछि मजाले लुट्न छुट हुन्छ । अहिले जो जो राजदूत हुन अग्रसर भएका छन्, तिनीहरू देशका लागि काम गर्न होइन, राजदूत बनेर आराम गर्न चाहन्छन् । अमेरिकामा देउवाका, चीनमा प्रचण्डका, जापान माधव नेपालका र बेलायत उपेन्द्र यादवका मान्छे राजदूत बन्ने भएछन् । यस्तो सुनेर पनि सही सुझाव कसैले नदिनु भनेको देश बर्बादीतिर जाँदैछ भन्ने हो ।