Advertisement Banner
Advertisement Banner

०७ आइतबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

लोकतन्त्रमा श्रद्धायोग्य नायक को हुन् ?

११ सोमबार , आश्विन २०७८४ बर्ष अगाडि

२०६५ साल जेठ १५ गते लोकतन्त्र घोषणा भएपछि २०७८ को आजको दिनसम्म आइपुग्दा श्रद्धायोग्य नायक को हुन् ? कसैले बताउन सक्छ ?
त्यो ठूलो परिवर्तनबाट एकजना पनि श्रद्धायोग्य नायक जनताले देख्न, भोग्न र आदर गर्न पाएनन् भने यो कति लोकप्रिय व्यवस्था हो ?
जतिबेला परिवर्तन आयो, राष्ट्र अस्थिर थियो । आज पनि राष्ट्र अस्थिर छ, अराजकता फैलिएको छ । समृद्ध नेपाल, सुखी नेपालीका नारा लागेका छन्, नाराभन्दा जीवनधारा अशान्त छ, खुशी छैन, सुरक्षित अनुभव कोही गर्दैनन्, समुन्नति त कागजमा लेखिनेमात्र हो । स्वाभिमान साँघुरिएको छ, सार्वभौमिकता खुम्चिन पुग्यो, राष्ट्रिय सुरक्षा र नीति नै धरापमा परेको छ, राष्ट्रियतामाथि नै कालो बादल मडारिएको जो कसैले अनुभूति गर्छ ।
गणतन्त्रका प्राप्त उपलब्धि भनेर नथाक्ने नेतृत्वले त्यो उपलब्धि भनेको के हो ? जनजीवनमा कहाँनेर त्यो उपलब्धि देखिन्छ ? केही बताउन सक्दैनन्, गणतन्त्रका उपलब्धि भनेको परिहास बन्न पुगेको छ । कतिपय गणतन्त्रवादीहरू पश्चातापको मनस्थितिमा समेत देखिन्छन् । कतिले राजाकै पालामा भएजति पनि सम्मान रहेन भनेर थक्क थक्क मानेको पनि देखियो । कति गणतन्त्रवादीले योभन्दा त पहिलेकै व्यवस्था ठीक थियो भनेको पनि सुनियो । यसरी हतारमा परिवर्तन ल्याएर फुर्सदमा पछुताउनुपर्ने अवस्था किन आयो ?
परिवर्तनले खुशी ल्याउनुपर्छ । परिवर्तन भनेकै आनन्दका लागि हो । जब कोही पनि आनन्दित हुन सकेनन् भने त्यो परिवर्तन होइन । जनता हिजोभन्दा आज झन बढी कष्टकर जीवन बाँच्न बाध्य पारिएका छन् । नागरिक र राष्ट्र हेपिदै र लतारिदै गएको छ । कानुनव्यवस्था केही छैन, हरेक संवैधानिक निकायहरू तेजोवध हुँदै गएका छन् । संविधान कार्यान्वयन भयो भनेर नथाक्ने केही नेताहरू संविधान अति राजनीतिकरणका कारणले नै पक्षाघात भइसकेको देख्दैनन् । नेता र जनताबीच विश्वासको वातावरण छैन । नागरिक र सरकारलाई जोड्ने कडीहरू फुस्किएका छन्, चुँडालिएका अवस्थामा छन् । यसकारण पनि यक्ष प्रश्न उठेको छ–
लोकतन्त्रमा गर्व गर्न, श्रद्धालायक नेता को को हुन् ?
लोकतन्त्रमा अहा भन्न लायक ठाउँ कुन कुन छन् ?
यसको जवाफमा हरेक नागरिक नाक खुम्च्याउन बाध्य छन् । यो अवस्था भनेको लोकतन्त्रजस्तो उत्तम व्यवस्था व्यवस्थित गर्ने नायक कोही भएनन् भन्ने हो । जो छन्, आफू, आफन्तमात्र हेर्छन् । नायक जन्माउने, नायकत्व दिने र नायक उभ्याउने वातावरण सिर्जना गर्न कोही प्रयत्नशील देखिदैन । यस्तो गाईजात्रा चालामाला पनि लोकतन्त्र चल्छ ?
१४ वर्षमा पनि लोकतन्त्र हेर्न पाइन्न भने नेताहरूले आफूलाई नियाल्नै पर्छ । वर्तमान र आउने पुस्ताले धिक्कार्ने शासन यिनीहरू किन चलाइरहेका छन् । लाभ भयो भन्दैमा फोहरमा लडिबुडी खेल्ने हो ? बालहठ गरेर राष्ट्रलाई अस्थिर र अराजकताको भीरबाट खसाल्नुलाई लोकतन्त्र भनिदैन । लोकतन्त्रमा लोक कसरी खुशी र उत्साहित हुन्छन्, त्यो विधि व्यवहारका मान्यताहरू स्थापित गर्नुपर्छ । नेताहरू श्रद्धालायक छैनन् भनेको अकर्मण्य देखिएको हो ।