Advertisement Banner
Advertisement Banner

०७ आइतबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

पार्टीहरू किन बलियो हुनुपर्छ ?

१४ सोमबार , भाद्र २०७८४ बर्ष अगाडि

पार्टीहरू बलियो हुनुपर्छ, हुने किन ? यसको मूल उद्देश्य भनेको मुलुक र नागरिक समस्याहरूको निराकरणका लागि हो । नागरिकलाई हेप्न, चेप्न र सकसमा पार्न होइन । न त मुलुकलाई खुम्च्याउन, मुलुकको प्रभावकारिता कमजोर पार्न र मुलुकमा विदेशी हैकम स्थापना गर्न नै हो ।
दुर्भाग्य भनौं, पार्टीहरू बलियो बनेका छन् । फुटेका छन् र एकदोस्रालाई होच्याएर आफू अग्लिएको आत्मानुभूति पनि गरिरहेका छन् । पार्टी र पार्टी नेताहरू बलिया हुनुपर्छ, तिनको भूमिका देश र जनतामा देखिनुपर्छ । राजनीतिक हैसियत अर्थात संसदमा र निर्वाचन आयोगमा, अदालतमा र संविधानमा पार्टीहरूको हैसियत देखिएर पुग्दैन । जनजीवनमा नेता र पार्टीहरूको विश्वास कति बढेको छ । यसैमा व्यक्ति र संस्थाहरूको प्रभावकारिता मापन गर्नु पर्छ । यतिबेला हाम्रा पार्टी र नेताहरूको ओजन घटेको छ । जनतामा तिनीहरूप्रति विश्वासमा कमी आएको छ । जनतामा त यो पद्धतिमै अविश्वास बढेर गएको छ । यो अवस्थामा कुनै नेता वा पार्टीले म बलियो, मेरो हैसियत ठूलो भनेर नाक फुलाउनुको कुनै तुक छैन । बेतुक बढी हो ।
एमाले फुट्यो, जसपा फुट्यो । फुटेकाहरूले पनि हैसियत प्राप्त गरे । पार्टी फुटेर जनताको र देशको भाग्य फुट्नु हुन्न । यी जुटेका वा फुटेका पार्टीहरूले देश बोकेका छन् कि छैनन्, जनताको अपेक्षालाई संवोधन गरे वा गर्ने हैसियतमा छन् कि छैनन् ? प्रमुख सवाल हो यो । यस दृष्टिकोणबाट हेर्दा पार्टी वा नेताको इज्जत बगेको पानी सरह छ । किनकि यी कसैले पनि जुट्ने र फुट्ने प्रक्रियामा जनतालाई प्राथमिकतामा राखेका छैनन् । यिनको व्यक्तिगत तुष्टि पूरा गर्न पार्टी फुटेका छन्, नेता फुटेका छन्, जुट्ने जुटेका छन् ।
यतिबेला हेरौं सुनौं, एक नेता अर्कोलाई, एक पार्टी अर्को पार्टीलाई प्रतिक्रियावादी, प्रतिगमनकारी, साम्राज्इवादी, इसाईको वा पुँजीपतिको दलाल भनेर कुर्लिरहेका सुनिन्छन् । कतिले आफू कमजोर बनाइएकोमा दुःख मनाउ गरेर अर्कोलाई हदैसम्मको असभ्य गालीगलौजमा पनि उत्रिएका देखिन्छन् । यसको अर्थ एउटै निस्कन्छ– यी आफै प्रतिक्रियावादी हुन् । विदेशीका दलाल हुन्, स्वार्थ बोकेर हिड्ने अधिनायकवादी हुन्, लोकतान्त्रिक होइनन् । यो अवस्थाले के देखाउँछ भने यिनले लोकतन्त्रलाई चलाउन सकेनन् । लोकतान्त्रिक मर्यादा र सभ्यतासमेत यिनमा रत्तिभर पनि देखिदैन । यिनीहरू अहिले पनि अतिवाद बोक्छन् र बाहुबली तरिकाले पार्टीतन्त्र चलाइरहेका छन् ।
राजनीति सेवा हो, हाम्रा पार्टी र नेताका लागि व्यवसाय बनेको छ । व्यवसाय भनेको मुनाफाका लागि गरिने व्यापार हो । लोकतान्त्रिक राजनीति मुनाफाखोरको गुँड बन्नु हुन्न थियो । हाम्रा नेताहरूले बनाइदिए । यसकारण लोकतन्त्रलाई जनताले आत्मसात गरेको देखिन्न । लोकतन्त्र पार्टी र तिनका कार्यकर्ताका लागि राम्रो जागीर हुनपुग्यो । केन्द्रदेखि गाउँपालिकासम्म राजनीतिक कार्यकर्ताको भर्ति खोलेर लोकतान्त्रिक संविधान कार्यान्वयन भयो भन्नु भनेको आत्मरती हुनपुगेको छ । सबेलाई हेक्का रहोस् ।