Advertisement Banner
Advertisement Banner

०७ आइतबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

युवाहरु जहाँबाट फर्के पनि केही दिनको ट्रान्जिट मात्र न हो

०७ सोमबार , भाद्र २०७८४ बर्ष अगाडि

कोरोनाका कारणले खाडीबाट फर्कियुन् कि भारतबाट, अहिले अफगानिस्तानबाट नेपालीको उद्धार भइरहेको छ । उद्धार अर्थात उनीहरुलाई नेपाल फर्काउने बन्दोवस्तमात्र हो । नेपाल फर्केपछि केही दिनमै उनीहरुलाई भोकले सताउँछ, तिनका परिवारजन समस्यामा पर्दै जान्छन् र फेरि उनीहरु काम र मामको खोजीमा जाने विदेश नै हो । किनकि नेपालको पद्धति, नेपालको सरकार र नेपालका नेताहरुले उद्योगधन्दा खोल्दैनन्, रोजगारी सिर्जना गर्दैनन्, नेतालाई कमिशनको मात्र स्वाद थाहा छ । भोक कस्तो हुन्छ, भोकाका परिवारमा कस्ता कस्ता आपत पर्छन्, केही थाहा हुन्न ।
यसकारण जुनसुकै देशबाट उद्धार भए पनि, फर्कने व्यवस्था मिलाए पनि आखिर नेपाली युवाको नियति भनेको केही दिनको ट्रान्जिटमात्र हो । केही दिनमै आफू र आफन्तजनलाई भोक, रोग र शोकले च्याप्दै लान्छ अनि फेरि उनीहरु जस्तोसुकै खतरा होस्, खतरासँग जुध्न तैयार हुन्छन् । रोजगारीका लागि विदेशीन बाध्य हुन्छन् । यसकारण नेपाली युवाहरुका लागि नेपाल भनेको केही दिनको ट्रान्जिट भन्दा भिन्न केही पनि छैन ।
नेपाली युवा भाडाका गार्ड अर्थात सिपाही हुन् । कुल्ली हुन् । सरकारले बिकाउमा राखेका बेरोजगार हुन् । सरकार युवा निकासी गरेर सरकार चलाउँछ, लोकतन्त्रको गुड्डी हाँक्छ । नेपालका युवा लोक होइनन् । मात्र विकाउ बस्तु हुन् । सरकार विदेशीहरुसँग हार गुहार गरेर वैदेशिक रोजगारीका नयाँ नयाँ गन्तव्य खोजिरहेछ । नेपाली युवालाई काम देउ भनेर हात थापिरहेछ । नेपाली युवाहरु बेचिन तैयार छन्, बेचिने क्रम जारी छ ।
नेपाली युवा भाडाका सिपाही, भाडाका नर्तकी, भाडाका केयरगिभर हुन् । घरेलु कामदार, कृषिका अदक्ष कामदार हुन् । उनीहरु पैसाका लागि जीवन दाउमा थाप्न तैयार छन् । कोही अर्काको देशका लागि अग्रपङ्तिमा उभिएर छातीमा गोली थाप्न तैयार छन् । कोही पैसासँग जवानी, जीवन, श्रम, यौन सबै साटिरहेका छन् । नेपाली युवाभन्दा सस्ता जवानी संसारमै पाइन्न ।
नेपालमा कुन युवा बस्छन् । जसका नातेदार नेता छन्, आफन्त प्रभावशाली छन्, प्रशासनमा छन् । जसले नेता र प्रशासकलाई किन्न सक्छ । उनीहरुका लागि हो नेपाल । नेपालको कानुन, नेपालको शासन सत्ता । जो कमजोर छ, जो पसिना बगाउन बाहेक केही जान्दैन, उसका लागि नेपाल ट्रान्जिट हो । कहिले छोटो र कहिले लामो ट्रान्जिट । समय सकिन्छ, अनि ऊ फेरि रोजीरोटी खोज्दै बिदेशीन अभिशप्त छ । युवाका लागि आफ्नै देशको पद्धति, प्रशासक, सरकार, प्रतिनिधि सबै सरापभन्दा कम छैनन् । यो सरापबाट नेपाली युवाहरु कहिले मुक्त होलान् । मुक्त गराउने तारणहार को बन्ला ? स्वयम् युवा बर्ग आफ्नो देशमै आफ्नो हक स्थापित गर्न तैयार देखिदैन ।