मनभरि निषेध र विभेद पालेर लेखिएको कारण संविधान कुनै पनि कोणबाट सफल हुनसकेन । संविधान सफल हुनका लागि जनताले अपनत्व ग्रहण गर्नुपर्छ । जनताले सिरानमा राखेर सुत्नसक्ने संविधानमात्र सफल संविधान मानिन्छ । यो संविधान त विभेदकारी छ, अनर्थकारी छ, दलीय पद्धतिमा निर्दलीय अभ्यास पनि गर्न पाइने प्रावधान छ । अचम्म त के छ भने संविधान छ तर दलीय भागबण्डामा संवैधानिक नियुक्ती हुन्छ र सर्वोच्च अदालतलाई समेत सर्वदलीय अदालतको रूपमा हेर्ने गरिन्छ । यति भइसकेपछि संविधान असफल भयो भनिरहनुसमेत परेन, किनकि कार्यरूपमै संविधान स्वार्थको पुरियाजस्तो छ । यहाँसम्म कि हरिकृष्ण कार्कीको प्रतिवेदनले समेत सेटिङमा बेञ्च तोकिने, फैसला हुनेसम्मका कुरा बोलेको छ । अर्थात् सर्वोच्च अदालत मन्दिरजस्तो छैन, आस्था गिर्दै र झर्दै गएको संस्था भयो ।
ऋषिमनले लेखिएको भए न संविधान पवित्र हुनेथियो । कालजयी हुनसक्ने थियो । यसप्रकारको स्वार्थले भरिएको संविधान संविधान होइन, कागजको खोस्टो हो । यो खोस्टोलाई संविधान बनाउनका लागि आमूल परिवर्तनको खाँचो कानुनचीहरूले समेत देखेका छन् । आमनागरिकले त संविधानलाई संविधान मानेकै छैनन् । संविधान कस्तो छ भनेर जनमत संग्रह गर्ने हो भने जनादेशले नै यो संविधानको आवश्यकता नभएको आदेश दिनेछ ।
यो संविधानको सबैभन्दा ठूलो दुर्गण भनेकै जनतासँग रायसुझाव लिएर संविधानमा समावेश नगर्नु हो । जनताले हिन्दुराष्ट्र हुनुपर्छ भनेर सुझाव दिए, केही इसाईको दबाबमा आएर संविधानको धारा ३ मा बहुधार्मिक राष्ट्र लेखियो, धारा ४ मा धर्मनिरपेक्ष लेखियो । के हो यो बहुअर्थी ? संविधानसभामा धार्मिक स्वतन्त्रता हुनेछ भनेर पारित गरिएको थियो तर घोषणा गर्दा धर्मनिरपेक्ष कसरी भयो ? संविधानसभाले पारित गरेको लिखतमा टिपेक्स लगाएर छाप्ने काम संविधानसभाका अध्यक्षले गरे कि ? यो सवालमा तैं चूप मै चूपको स्थिति कसरी सिर्जना भयो ? यो संविधान जालझेलको दस्तावेज हो ।
वीपी कोइरालाले भन्नुभएको थियो– अधिकारको कागजी रूपलाई मात्र प्राप्त गर्ने कसैको उद्देश्य रह्यो भने त्यसले कागजको खोस्टोमात्र पाउँछ । अधिकार लेखिएको यो संविधान कागजको खोस्टो मात्र हो । किनकि यो संविधानले योग्यताको कदर गरेन, राजनीतिक भागबण्डालाई छुट दियो । राष्ट्रियता र जनाधिकारको रक्षा र सुरक्षा गर्न सकेन । भ्रष्टाचारलाई नियमन भन्दा छुट दियो । हिंसात्मक गतिविधिमाथि नियन्त्रण होइन, संविधान र संवैधानिक निकायमा बस्नेहरू संरक्षक बन्नेजस्ता कार्य बढेर गयो ।
यसकारण यो संविधानप्रति अनास्था र अविश्वास बढेको छ । लोकतान्त्रिक संविधानमा लोकमत नै अनास्था छ, अविश्वास छ भने त्यस्तो संविधान कुनै हालतमा पनि सफल हुनसक्दैन । यो संविधान स्वचालित र गतिशील पनि छैन, यसकारण पनि यो संविधानलाई परिमार्जन गर्ने कि फेर्ने ?