के के न गर्छौं भनेर ५ दलीय मोर्चाले गरेको संघर्ष र अदालतले बनाइदिएको सरकारले ३ हप्तामा पनि केही गरेन । सुशासन दिने नाममा व्यवसायीलाई स्वास्थ्य मन्त्री बनाएपछि स्वयम् प्रधानमन्त्रीले परिवारका कारण गल्ती भयो भन्नुपर्ने अवस्थाले यो मोर्चाले लज्जावोध गरेन । प्रधानमन्त्री बनेकै भोलिपल्ट कांग्रेसका नेता विजयकुमार गच्छदारलाई विशेष अदालतमा उभ्याएर सोही दिन बहस र जमानतको फैसला गराएर तत्काल छुटाउन सक्ने घटनाले पनि यो मोर्चा अपराधिकरणमा लागेको देखियो ।
ओलीराज गलत थियो, निरंकूश थियो भन्नेहरूले यो ३ हप्तामा केही गरेनन्, जे गरेर नकाममात्र गरे । यिनको संघर्ष सत्ताका लागिमात्र थियो भन्ने एकपल्ट फेरि प्रमाणित हुनपुग्यो । हो, कुनै पनि सरकारको सय दिन उसको हनिमुन पिरियड मानिन्छ । तर यो समय असामान्य समय हो । झण्डै १० हजारले कोभिडका कारण ज्यान गुमाइसके । उपचार नपाउने, अक्सिजन नपाउने, खोप नपाउने अवस्थाले जनताले ज्यान गुमाउन बाध्य भएका हुन् । यो कुरा सरकारलाई थाहा छ र तत्काल सक्रिय हुनुपर्ने मोर्चाले निर्माण गरेको देउवा सरकार आनन्दले हनिमुन मनाएजसरी सुतेको अवस्था छ ।
गतिलो सरकार थियो भने गति लिनुपथ्र्यो । अगतिलो सरकार बनेछ र कुशासनमात्र देखियो । जनताले भोगेको सत्य यही हो । यो सत्यलाई नकार्न सकिने अवस्था छैन । किनकि सरकारसँग झण्डै ४० लाख खोप भण्डारमा थुप्रिएको छ । चीनले थप खोप दिन्छु भनेको छ, भारतबाट आउनुपर्ने खोप पनि आउनेवाला छ, अन्य देशबाट पनि खोपको प्रवन्ध भइरहेको छ । तर खोप ल्याएर भण्डारण किन गरियो ? पर्याप्त खोप भएर पनि स्वास्थ्यकर्मीहरूलाई सक्रिय पारेर खोप दिने कार्यमा व्यापकता किन ल्याउन सकिएन ?
यसमाथि खोप हिनामिना भएको खबर आइरहेछ । खोप प्रभावशालीहरूले आफन्तलाई लगाइरहेका छन्, कतिपय नेता र मेयरले समेत खोप भोटका लागि गुण लगाउन लुकी लुकी दिने गरेका खबर पनि सार्वजनिक भए । यस्तो खबर आउनु भनेकै यो मोर्चाको सरकारको निस्क्रियता र असक्षमता हो । यत्ति कुरा सबैले बुझेका छन् । तर यो मोर्चा अहिले पनि अलमलमा छ ।
मोर्चाले केपी ओलीलाई परास्त ग¥यो । ओलीले सहजताका साथ सत्ता छाडिदिए । मोर्चा सत्तमा उक्लियो । सत्तामा उक्लिनुमात्र मोर्चाको कर्म हो भने यो मोर्चा अब पतनोन्मुख हुनथाल्यो भन्दा हुन्छ । किनकि जनताले खोज्ने परफरमेन्स हो । यो मोर्चाको सरकार जनतामाथि बोझ हुनथाल्यो । प्रजातन्त्रको बिडा उठाएको भन्ने कांग्रेस सभापतिको नेतृत्वमा बनेको मोर्चाको सरकार पनि यति कमसल ? कसैले सोचेका पनि थिएनन्, देखियो खोटो ।
सबैभन्दा पहिले भएका पर्याप्त खोपलाई तत्काल व्यापक रूपमा भएका र नयाँ खोप केन्द्रहरू स्थापना गरेर दिनथाल्नुपर्छ । समय बर्बाद नगरौं कारण संक्रमण बढ्दो क्रममा छ । मर्नेहरूको संख्या घटेको छैन । जबसम्म खोप दिइदैन, कोरोना संक्रमण कम गर्ने कुनै विकल्प देखिदैन । एकमात्र उपाय खोप हो भने खोप दिनका लागि संसद, नागरिक समाज र स्वास्थ्यकर्मीहरूले किन बोलिरहेका छैनन् । खोप थुपारेर सरकारले गर्न खोजेको के हो ? लोसे सरकार किन भद्रो हेरेर बसेको छ ? खोप दिन पनि साइत चाहिन्छ र ?