पाँच महिनामा दोस्रोपल्ट संसद बिघटन भयो होला । यसमा सत्ताधारी ओलीले कि सत्तामा जान तम्सिएका ओली विरोधी जित्ने भन्ने विषय अदालतमा कानुनी रस्साकस्सी चलिरहेको छ । अदालतले भन्ला– राष्ट्रपति प्रधानमन्त्री ठिक कि सत्तामा जान खोज्ने सत्ताइतरका प्रतिपक्षी ठिक ? पार्टी पद्धतिमा ह्वीप मान्नुपर्छ कि पर्दैन ? निर्दलीय अभ्यासको परिकल्पना संविधानका छ कि छैन ? पार्टी नफुटीकनै एउटा दलका सांसदले अर्को दललाई स्वतन्त्र हैसियतमा समर्थन गर्न मिल्छ कि मिल्दैन ? लोकतन्त्र भनेको के हो ? लोकतन्त्रमा सांसदहरूको सीमा र अनुशासन कस्तो हुनेछ ? लोकतान्त्रिक मर्यादा, आचरण के हो ? उल्लंघन गर्न पाइन्छ पाइन्न ? यी हरेक पेचिला मुद्दामा अदालतले संविधानको व्याख्या गर्ने नै छ ।
तर, राजनीति जनताका लागि हो भने जनताको हारगुहार जननेताहरूले, पार्टीहरूले किन सुनिरहेका छैनन् ? पहिले जनताका अपेक्षा, त्यसपछि सत्ताको झगडा हुनुपर्ने हो । सवाल यो सरकार रहनु पर्छ कि जानुपर्छ भन्ने होइन । सवाल नयाँ सरकार आइहाल्नुपर्छ भन्ने पनि होइन । सवाल हो, कोरोना पीडितले अक्सिजन नपाएर किन मर्नुपरिरहेको छ ? आमनागरिकले खोप किन पाएनन् ? आमनागरिकले लकडाउनमा भोकले मर्नुपर्ने, उपचार नपाउने स्थितिलाई कसरी समाधान गर्ने भन्ने हो ? कोरोना सरकार अथवा प्रतिपक्षले ल्याएको होइन, यो विश्वव्यापी फैलिएको महामारी हो, महामारीको चपेटामा परेका आमनागरिकलाई सुरक्षा र स्वास्थ्योपचारको प्रवन्ध हुन नसक्नु लोकतन्त्रको सबैभन्दा ठूलो असफलता हो । यो सरकारको मात्र असफलता होइन, प्रतिपक्षी, नागरिक समाज, प्रशासन सबैको असफलता भएकाले साझा विपतसँग सबैले मिलेर लड्नु बुद्धिमानी हुनेथियो । राष्ट्रिय समस्या, जनताको जीवनमरणको समस्यामा राजनीतिकरण हुनु दुर्भाग्य हो । राजनीतिक झगडा हुँदै रहन्छ, जनतालाई अकालमा मर्नबाट बचाउन नसकिएका अनेक उदाहरण छन् । मानवीय मूल्य र मान्यतामा पनि खरो उत्रन नसक्नु भनेको हाम्रो लोकतान्त्रिक पद्धतिकै असफलता हो । संविधान असरदार हुन नसकेको प्रमाण हो । नेतृत्व स्खलित भएको र जिम्मेवार हुन नसकेको उदाहरण हो ।
यति नै बेला अतिवर्षाका कारण बाढी पहिरोले मुलुकलाई गाँजेको अर्को विपत आइसकेको छ । विपतमाथि विपत थपिने र विपतसँग जुध्नुपर्ने नेतृत्व तह मुद्दामामिला, झगडा गरेर बस्दा यसको असर जनसेवामा परिरहेको छ । जनता धनजनको क्षति बेहोरिरहन बाध्य छन् । लोकतन्त्रलाई बरदान सावित गराउन नेतृत्वतहले सकेन । विपत आउँछन्, विपतसँग लड्न उभिन सकेन नेतृत्व । यस्तो नेतृत्व सरकारमा छ, विपक्षमा छ । दुबैथरिले देश र जनतालाई संवोधन गर्न नसक्नु दुर्भाग्य हो ।