कोभिड १९ ले थिलथिलो भएर देशले भोगिरहेको महामारीमा कूटनीति सक्रिय हुनुपर्ने हो । कूटनीतिमा देखिएको शिथिलताले देशको क्षमतामा ह्रास आएको स्पष्ट देखिएको छ । नेतृत्व गर्छु भन्नेहरु सडक, संसद, सरकारमा छन्, तिनले नागरिकहरुलाई जोखिमबाट बचाउन कूटनीतिक क्षमता र सीप देखाउनु पर्छ । तर दुर्भाग्य, राजनीति गर्नेहरु सत्ताको छिनाझप्टीमा समय खेर फालेको धेरै भइसक्यो । यो स्थिति देखेर संसारले बुझेको सत्य के हो भने नेपाली राजनीतिक नेताहरु देश, लोकतन्त्र हाँक्न सक्षम छैनन्, यिनीहरुमा त्यो नैतिक काविलियत रहेन ।
अर्थात् नेपाली नेताहरुले देशका नागरिकको विश्वास गुमाए गुमाए, विदेशी मित्रहरुको विश्वास पनि गुमाउन पुगेका छन् । समयमै कूटनीतिक पहल र सीप देखाउन सकेको भए कोरोनाले यति ठूलो क्षति गर्ने थिएन, एउटा कोरोनाको खोपका लागि जनताले रोइकराई गर्नुपर्ने थिएन, अक्सिजन नपाएर नागरिकहरुले अकालमै ज्यान गुमाउनु पर्ने थिएन । तर, नेतृत्वको क्षमता नहुनुको कारणले नागरिकको मृत्यु बढ्यो, संक्रमित छटपटीमा रहनुप¥यो, भोक र रोगको व्यवस्थापनमा नेतृत्वपंक्ति चुक्यो ।
यहीकारण हो, गत दुईवर्षदेखि नेपाल असफल राष्ट्रको निकट पुगिसकेको छ । राज्यका प्रमुख तीन अङ्ग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका तीनतिर फर्केका छन् । यिनमा कुनै प्रकारको समन्वय छैन । राज्यको चौथो र अन्य अङ्गहरु राजनीतिक कित्ता कित्तामा बिभक्त हुनपुगे । अरु त अरु नागरिक समाजले समेत नागरिकका मुद्दा होइन, राजनीतिक दलका मुद्दा बोकेर सडकमा निस्कन थालेका छन् । यहीकारण हो, राज्यका कुनै निकायले काम गर्न छाडेका छन् । जवाफदेही र उत्तरदायित्व कसैले बहन गरिरहेका छैनन् । जो चलेका छन्, राजनीतिक उद्देश्य बोकेर चलेका छन्, यहीकारण देश असफलताको भीरमा पुगेको हो ।
अचम्म त के पनि देखियो भने जनयुद्धकालमा टाउकाको मूल्य तोक्ने र टाउको जोगाउनेहरु आन्द्रा जोड्न पुगेका छन् । २०७२ सालमा संविधान जारी गर्दा दीपावली गर्ने र संविधान जलाउनेहरु काँधमा काँध मिलाएर सरकार चलाउन पुगेका छन् । एउटा बहुल राष्ट्रवाद भन्ने र अर्को नेपाल राष्ट्र भन्ने शक्ति त्यही संविधानको शपथ खाएर सरकार बनाएर चलाउन थालेका छन् । नाकावन्दी गर्ने र गलत भन्ने एउटै शक्ति बनेर सत्ताको दुई पाङ्ग्राका रुपमा देखिनु पनि आश्चर्य नै हो । यस्तै यस्तै आश्चर्यले गर्दा राष्ट्र असफलतातिर उन्मुख भएको हो । कम्तिमा नीति, सिद्धान्त र संविधानप्रति वफादार छौं भन्ने एकल स्वर त निस्कनु पर्छ । यिनका मुखुण्डो खोलिदै छन् र यिनलाई मुखुण्डो उत्रिएकोमा कुनै लाज शरम छैन । चाहिएको सत्ता हो, पाएपछि सबै मिल्यो । सत्ता नपाए फेरि यिनीहरु बिभिण्डिन्छन्, एकदोस्राप्रति खुट्टा तानातान गर्छन् ।
सत्ताले मिलाउने र सत्ता नपाए फुटाउने राजनीतिले शासन व्यवस्था शिथिल भयो, शासनमा हुनुपर्ने राजनीतिक र कूटनीतिक क्षमता पनि शिथिल भयो ।