राजनीति आफ्नो ठाउँमा छ । राजनीति पार्टीहरूले नै गर्ने हो, गर । महामारी राजनीति होइन । महामारबिाट जनता बाँचे न राजनीति होला, जनता नै मरे भने कोमाथि राजनीति थोपर्ने ? त्यसैले जनतालाई बचाउन राजनीतिक पार्टीहरू एक ठाउँमा आउनै पर्छ ।
नेताहरू ठान्छन्– लुटलाट पारेर खोप आफू र आफ्ना परिवारजन, नाताकुटुम्बलाई लगाइहालियो, जनता मरे मरून् । हो, जनता महामारीको सिकार बनेका छन्, अक्सिजन र ओखतीमूलो पाएका छैनन् । धमाधम मरिरहेका छन् । यो मृत्यु निरन्तरता कहिले रोकिने हो थाहा छैन । घर घर त्रासदीमा छ, गाउँ सहरभित्र पनि त्रासदी फैलिएको छ । तै पनि देश र जनताका लागि राजनीति गरेको फुइँकी लाउनेहरू यो महामारीबाट कसरी जनतालाई बचाउने, छिटोभन्दा छिटो खोप कसरी ल्याउने भन्ने कुनै चिन्तामा छैनन् । सरकारले प्रयास गरिरहेको छ, त्यो अपर्याप्त प्रयास हो । राष्ट्रपतिले पत्राचार सुरू गरेकी छिन्, त्यो पनि कमजोर प्रयास हो । सिङ्गो नेपालको एकै स्वरमा प्रयास हुनुपथ्र्यो । यसका लागि सबै पार्टी र सरकार एक भएर नेपालका मित्रहरूसँग खोप माँगेको, किनेको भए आज यो मृत्युको ताण्डवनृत्यमा जनताले सिकार भइरहनु पर्ने थिएन ।
खोप त ल्याएनन्, ल्याएनन्, सावधानीका उपायहरू प्रचार गर्नसमेत सरकार एक्लै प¥यो । हरेक निर्वाचन क्षेत्रका जनप्रतिनिधि, स्थानीयदेखि संघीयसम्मका ७ सय ६१ सरकार एक भएर लाग्नुपर्ने थियो । एमाले गुटबाजीको राजनीतिमा छ, माओवादी एमालेका विद्रोहीसँग मिलेर सत्ता परिवर्तनको खेलमा लागेको छ । मधेशवादी पनि सत्तामा जाने र सत्ता परिवर्तनको कित्ता कित्तामा बिभक्त छ । देशैभरि सलहजसरी फैलिएको कोरोना भाइरसको विपतसँग कसरी लड्ने भन्ने चिन्ता र चासो कुनै पनि दलका नेतामा देखिदैन । सरकारमा भएको पक्ष कसरी सत्ता बचाउने भन्ने सकसमा छ । देश र जनताको सकस नेताहरू देखिरहेका छैनन् ।
१९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य भएको नेपालका अनेक मित्रहरू छन् । ती मित्रहरूलाई नेपालको विपत बुझाउन समेत पार्टीहरू तैयार छैनन् । नेपालमा मानवीय क्षतिको कस्तो अवस्था छ भन्ने समाचार बेलायत अमेरिकाबाट छापिन्छ र छापिएका समाचारमा विश्व स्वास्थ्य संगठनले प्रतिक्रिया दिन्छ । बेलायत, अमेरिकाका संसदमा नेपालबारे छलफल हुन्छ, नेपालका सांसदहरू कसरी कोरोनालाई पराजीत गर्ने भन्ने विषयमा चर्चा नै गर्दैनन् । लोकतन्त्र नामको पद्धतिले पार्टीहरूलाई व्यक्तिवादी बनाइदियो । देश र जनता बेवारिसेजस्तो पो हुनपुग्यो । कहिलेसम्म ?