Advertisement Banner
Advertisement Banner

०७ आइतबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

बृद्ध भत्ता अझ बढाए हुन्छ

१७ सोमबार , जेठ २०७८४ बर्ष अगाडि

१७ लाख बृद्धहरूले पाउने बृद्धभत्ता किन दिने, किन बढाउने ? भनेर अनेक प्रश्न गर्नेहरू धेरै छन् । सहरमा बसेका र सम्पन्न बृद्धहरूको हालत राम्रो होला, बृद्धको हालत कस्तो छ, गाउँ गाउँ गएर हेरौं ।
बृद्धबृद्धाहरूको आम्दानी छैन । छोराछोरी भएकाहरू पनि एकान्त जीवन बिताइरहेका छन् । तिनको औषधोपचार गर्ने कोही छैन । कसले अस्पताल लाने, लगिहाले खर्च कसले बेहोर्ने ? छोरा छोरी भए पनि घरबाट निकालवास भएका कति छन् कति ? त्यो ठूलो बृद्धबृद्धाका लागि बृद्धभत्ता सञ्जीवनी बुटी नै हो । २०५१ सालमा अल्पमतको मनमोहन अधिकारीको सरकारले सुरू गरेको बृद्ध भत्ता अन्य विकास कार्यक्रम अथाव बजेटलाई कनिका छरेजस्तो छरेको सस्तो लोकप्रियताका रूपमा नबुझ्दा राम्रो । बृद्धभत्ता बजेटको सबैभन्दा राम्रो पक्ष भन्दा फरक पर्दैन ।
हो, बृद्धभत्तामा नियमन जरूरी छ । जो बिते, तिनका नाममा पनि बृद्धभत्ता खर्च भइरहेको छ । कतिपय बृद्धहरू भत्ता बुझ्न जान नसक्दा पनि अपचलन भइरहेको छ । कतिपय बृद्धहरू हिड्डुल गर्न सक्दैनन्, तिनीहरूको हातसम्म कसरी सहजै भत्ता पु¥याउन सकिन्छ ? बृद्ध भत्तामा भएका अपचलनलाई कसरी रोक्न सकिन्छ ? सामाजिक सुरक्षा भत्ताको दुरूपयोग गर्ने जो कोहीलाई कडा कारवाही गर्न जरूरी छ । तबमात्र सामाजिक भत्ता प्रभावकारी हुनसक्छ । भ्रष्टहरू बृद्धबृद्धा र अन्य सामाजिक भत्तामा पनि भ्रष्टाचार गर्छन्, गरेका छन्, यो ठूलो अपराध मानिनु पर्छ ।
हो, सम्पन्न बृद्धहरूले भत्ता नलिदा राम्रो । पदमा बसेका र अन्य सुविधा पाइरहेका बृद्धहरूले पनि बृद्धभत्ता लिएका छन् । दोहोरो, तेहेरो सुविधा पाउने बृद्धबृद्धाहरू पनि छन् । तिनको नियमन जरूरी छ । ठूला पदमा बसेका, डा.रामवरण यादवजस्ता जनकपुरका जमिन्दारहरू जनताले तिरेको करको सुख सुविधा भोग गरिरहेका छन् । यस्ता रामहरू हति छन् कति ? नामले होइन, कर्मले मर्यादा पुरूष बन्ने साहस किन सुविधाभोगीहरू गर्दैनन् र गरीव, विपन्न, सिमान्तकृत बृद्धाहरूले राज्यबाट पाउनै पर्ने बृद्ध अथवा अन्य सामाजिक भत्तामा विवाद खडा गर्छन् । जो बृद्ध भत्ताजस्ता सामाजिक भत्तामा प्रश्न गरिरहेका छन्, तिनले गाउँघरका, कतिपय सहरबजारका र बृद्धाश्रमहरूमा आँसु पिएर बाँचिरहेका बृद्धबृद्धाहरूको कथा सुनेका छैनन्, तिनको जीवन बुझेका छैनन् । जब विपन्न र असहाय बृद्धबृद्धाको कुरा सुनिन्छ तव थाहा लाग्छ, बृद्धाबृद्धालाई किन सिनियर सिटिजन भनिएको रहेछ । नेपालजस्तो संयुक्त परिवार व्यवस्था भएको मुलुकमा यस्ता भत्ताको ठूलो योगदान देखिन्छ । राज्यले हरेक व्यक्तिको सुरक्षा गर्न नसक्ने अवस्थालाई केही भए पनि यस्ता भत्ताले राहत दिएको अनुभूति गर्न सकिन्छ । यसकारण बृद्धभत्ता अझ बढाइनु पर्छ ।