Advertisement Banner
Advertisement Banner

०७ आइतबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

देशप्रतिको जवाफदेहीता

१० सोमबार , जेठ २०७८४ बर्ष अगाडि

नेपाली कांग्रेसले वीपी कोइरालाको नीति परित्याग नगरेको भए आज राजनीतिक स्थिति अर्कै हुन्थ्यो । उधारोमा राष्ट्रपति हुन्छु भनेर गिरिजाप्रसाद कोइरालाले माओवादीलाई बोकेर सत्ताको साँचो सुम्पिएका हुन्, त्यसअघि राजतन्त्रको नीति परित्याग गरेका हुन् । कांग्रेसले नै धार्मिक स्वतन्त्रता भनेर धर्मनिरपेक्षतामा सही ठोक्यो, संघीयतालाई बोक्यो । फलतः देश अन्तहीन सत्ता झगडामा, भ्रष्टाचारमा मुछिन पुगेको छ ।
लोकतन्त्रको विकल्प छैन । तर लोकतन्त्रमा जनताप्रति जिम्मेवारी र देशप्रतिको जवाफदेहीताको पनि विकल्प छैन । लोकतन्त्र जपेर देश र जनतालाई लुट्ने तन्त्रलाई कसरी लोकतन्त्र भनेर मान्ने ? आज देशमा लोकतन्त्रको गरिमा र महिमा बाँकी छैन । यसमा पहिलो दोषी नेपाली कांग्रेस हो, यो दोषको जिम्मेवारी कांग्रेसले लिनुपर्छ र आफ्ना पुराना गलत निर्णयहरूलाई सच्याएर अघि बढ्नुपर्छ । अझै पनि समय छ, कोर्स करेक्शन हुनसक्छ, जनताले कांग्रेसलाई जिम्मेवारी दिनसक्छन् । यदि भ्रष्ट, नैतिकहीन कम्युनिष्टलाई नै बोकेर हिड्ने हो भने कम्युनिष्टको भविष्य अहिलेको भ्रष्टाचार युग हो भने कांग्रेसको भविष्य पनि वर्तमान असरल्ल हाँस न कुखुराको चाल हो । यी सबै परिस्थितिको महगो मूल्य चुकाउनु पर्ने देश र जनताले हो । देश र जनताप्रति जिम्मेवार हुन नसक्ने हो भने कांग्रेसले देशलाई अहिलेजस्तै चिहानमा परिणत गर्नेछ ।
जनता अस्पतालका ढोकामा रोइरहेका छन् । उपचारका लागि चिच्याइरहेका छन् । अक्सिजन नपाएर मरिरहेका छन् । को छ देशको अभिभावक, जसले जनताको चिच्याहटको संवेदनशीलता बुझोस् । जो सत्तामा छन्, उनीहरू आपराधिक राजनीतिमा व्यस्त छन्, जो सडकमा छन् उनीहरू सत्तामा जानका लागि संवेदनहीन, गैरजिम्मेवार राजनीति गरिरहेका छन् । जुन राजनीतिले जनता र देशलाई संवोधन गर्न सक्दैन भने त्यस्तो राजनीतिक कसरी लोकतान्त्रिक हुन्छ, अग्रगमनकारी हुन्छ ?
कुनै पनि पद्धतिको, संविधानको, संसदको, सरकारको, जनप्रतिनिधिको पहिलो कर्तव्य लोककल्याण हो । देशभक्ति हो । देशभक्ति र लोककल्याण गर्न नसक्ने नीति, पद्धति, प्रतिनिधिको कुनै अर्थ र औचित्य रहदैन । यतिबेला कोरोना संक्रमणको महामारी गाउँसम्म फैलिसकेको छ । हरेक दिन संक्रमित र मृत्युदर बढिरहेको छ । हरेक घरमा कोरोनाको त्रास पुगिसकेको छ । यो अवस्थामा भरपर्दो सहारा दिने पद्धतिका अगुवाहरूले हो । अगुवाहरू छन् र सत्तामा सिमित छन्, स्वार्थमा सिमित छन् । यस्तो राजनीति र प्रशासनले जनताको अपेक्षा संवोधन गर्न सक्दैन । यसकारण पनि राजनीतिक दलहरूले आफ्ना गतिविधिको स्वमूल्याङ्कन गर्नुपर्छ । प्रत्येक नेताले आत्मसमीक्षा र खासगरी लोकतन्त्रको बिडा उठाएको भन्ने कांग्रेसले कहाँ गल्ती कमजोरी भयो, पहिल्याउन र सच्याउन जरूरी छ ।