उपचार पाइन्छ भनेर संक्रमित अस्पताल आइरहेका छन् । आउँदा आउँदैं, अस्पताल आएर पनि भर्ना नपाएर, अक्सिजन नपाएर आममान्छे सडकमै, अस्पतालको ढोकैमा, टेक्टर, एम्बुलेन्स, ट्रकमै मरिरहेका छन् । देखेन लोकतान्त्रिक राजनीति गर्ने र विधिको शासनले देखेन ।
मान्छे मरिरहेका छन् । आफ्ना मान्छे मरेको पीडा छुट्टैछ, छुन पाउँदैनन्, फूल चढाउन वा पानी चढाउन पाउँदैनन्, आफ्नो मान्छेलाई अँगालो हालेर रून पाउँदैनन्, आफन्तका अस्तुका लागि पखेर उभिएका देखिन्छन्, उदास मन, आँसु सुकेर सुख्खा भएका आँखा, मुटु गाँठो परेर शब्दहीन बनेका मुहार, कर्मकाण्ड कता हो कता, यस्तो दर्दनाक स्थिति छ मुलुकमा । यस्तो पीडालाई कसरी कम गर्न सकिन्छ भन्ने जिम्मेवारी सरकारको हो, जनप्रतिनिधिको हो, नागरिक समाजको र बुद्धिजीवीहरूको हो । तर सबै लोक मरेको तमासा हेरिरहेका छन् । देखेन लोकतान्त्रिक पद्धति चाहिन्छ भनेर वकालत गर्नेहरू कसैले पनि असमानता देखेन ।
संसदमा प्रधानमन्त्रीले विश्वासको मत पाएनन् । राजनीतिक दलहरू बैकल्पिक सरकार गठन गर्ने दौडधूपमा लागे । नेताहरूको छिर्की हानाहानको प्रतिस्पर्धा देखियो । कोही हारे, कोही जिते । अन्ततः पुरानै सरकारले निरन्तरता पायो । तातेको राजनीति अझै तात्दै गएको छ ।
सेलाए ताता नागरिक मरेर सेलए । चिस्सिए ताता नागरिक मरेर चिस्सिए । गरिब देशका जनताले उपचार नपाएर मर्नुप¥यो । देखेनन्, जवाफदेही कोही पनि भएनन्, सार्वभौम जनता मरेको यिनले देखेनन् ।
राजनीतिमा ईश्वर भनेका जनता हुन् । आस्थाको ईश्वरलाई जति पूजा गरे पनि हुन्छ । राजनीतिका ईश्वरको पूजा सेवाभावले गर्नुपर्ने हो तर राजनीतिक नेताहरूले जनतालाई बस्तु बनाए, बेचे र राजनीतिलाई व्यवसाय बनाएर कमाउन थाले । यही कारण हो, लोक अकालमा मरिरहेछन् । नेताहरू यतिसम्म राजनीतिक अपराधी बन्छन् भन्ने कसैले सोचेका थिएनन् तर पाप गरे । राजनीति बैध होला, जनता अवैध भए । अवैध जनताले राजनीतिबाट त्रास पाएनन्, सकसमात्र पाए । अक्सिजनसम्म नपाएर निसास्सिएर मर्न बाध्य पारिएका छन् । लोकतन्त्रको यो अति हो ।
यति भए पनि जनताहरू यिनै नेताका पछि किन लाग्छन् ? यिनै नेतालाई आफ्नो नेता किन ठान्छन् ? जनविरोधी, राजनीतिक अपराधीहरूलाई नै परमेश्वर किन मान्छन् र चुनावमा यिनैलाई मतदान गर्छन् ? जनताले सबै बुझेका छन्, सबैलाई चिनेका छन्, तैपनि यिनैलाई मत दिएर आफ्ना शासक बनाउँछन् । दण्ड दिन नेपालीले जानेकै छैनन्, सिकेकै छैनन् । गलतलाई गलत भन्न नसक्नु र सच्याउन नसक्नुले जनता पटक पटक राजनीतिको अपराधबाट पीडित हुन बाध्य छ ।
खराव राजनीतिलाई खराव कहिले भन्ने साहस गर्लान् जनताले ?