Advertisement Banner
Advertisement Banner

०७ आइतबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

पद्धति कि नेतृत्व पतन ?

२७ सोमबार , बैशाख २०७८४ बर्ष अगाडि

जुन पद्धतिले जनताको जीउज्यान बचाउन सक्दैन, त्यो पद्धति पतन भयो भनेर बुझ्नुपर्छ । पञ्चायत खराव भयो भनेर बहुदल ल्याएको हो, बहुदलले पनि आमनागरिकलाई संवोधन गर्न सकेन भनेर लोकतन्त्रको नामाकरण गरियो, लोकतन्त्रले आमनागरिकलाई समेट्न, सम्हाल्न सक्यो कि सकेन ? यो मूल प्रश्न हो । यो प्रश्नमा यो पद्धति पतन भएको देखिन्छ । यो पद्धतिले देश र देशका नागरिकलाई समेट्न र तिनको नाना, खाना र छाना बारेमा त केही गर्न सकेन सकेन, कोरोनाको महाविपतमा आमनागरिकको जीवन रक्षा गर्न समेत सकेन । यस्तो पद्धति च्यापेर हिड्ने कि पद्धति सञ्चालन गर्न नसक्नेहरूलाई फेर्ने, जनताले सोच्नुपर्छ ।
भनिन्छ, जनता जुन स्तरका छन्, तिनले त्यही स्तरका नेता पाउँछन् । यदि यही नै मान्ने हो भने जनताको स्तर लोकतन्त्र अनुकूल रहेनछ भनेर मान्नुपर्ने हुन्छ । हामी जनता कस्ता हौं, जो यिनै नेताको पछि लाग्छौं, यिनै नेतालाई चुनावमा जिताउँछौं अनि यिनै जनताले देश र जनताका लागि सोचेनन्, स्वार्थी भए, अनैतिक भए भनेर यिनकै आलोचना गर्छन् । जनता चुनावका बेलामा असल नेता छनौट गर्न किन सक्दैनन् । जनतामा चेतना नभएको होइन, जनताले नबुझेका पनि होइनन् । शासन र प्रशासनमा अनैतिकहरूको भीड जम्मा भयो, जसले भ्रष्टाचार बढाइरहेका छन् भन्ने पनि जनतालाई थाहा छ । यसरी सत्य थाहा पाएर पनि जनता आलोचना गरेकै नेताका, पार्टीका पछाडि लाग्छन् र चुनाव आयो कि तिनकै पछि लाग्छन्, तिनैलाई जिताउँछन् । अनि ती सत्तामा जान्छन् र सुकिला मुकिला भएर स्वार्थको पोखरीमा पौडी खेल्न थालेपछि आमनागरिक खप्परमा हात राखेर पछुताउँछन्, यी नेताले डुबाए भनेर पछुताउ गर्छन् ।
जनता पटक पटक यो गल्ती गरिरहेका छन् । यहाँसम्म कि जनता जनयुद्धमा लाग्नु र जनआन्दोलनमा होमिनु नै गलत रहेछ भन्ने निष्कर्षमा पनि पुगिसकेका छन् । धेरै नागरिक लोकतन्त्रले डुबायो भन्छन्, राजसंस्था नै ठिक भन्नेहरू पनि छन् । परिवर्तन ठिक भएन भन्ने जनताको निष्कर्ष छ । के लोकतन्त्र र संघीयता भार नै हो त देशका लागि ?
प्रश्न उठेको छ । राष्ट्रिय मुद्दा बनिसकेको छ । सत्य के पनि हो भने विश्वमा सबैभन्दा उत्कृष्ठ पद्धति भनेको लोकतन्त्र नै हो । यही सही हो भने लोकतन्त्रलाई दोष दिनुभन्दा जनतालाई दोष दिनुपर्ने हुन्छ । जनता लोकतन्त्रमा अयोग्य पात्रहरूलाई चुनावमा किन चयन गर्छन् ? जनतलो योग्य पात्र छाने भने पद्धतिलाई दोष दिनै पर्दैन । यही पद्धतिले सुशासन भएका मुलुकहरू छन्, हामी यही पद्धतिले दुःखी भइरहेका छौं । यसकारण जनताले सोच्नुपर्छ, पद्धति पतन भएको होइन, अयोग्य सञ्चालकहरूले लोकतन्त्रलाई पतन बनाए । अब जनता सचेत हुनुपर्छ र कुनै पनि हालतमा मुख हेरेर होइन, योग्य नेता छनौट गरे, यसरी पछुताउनु पर्नेछैन ।