Advertisement Banner
Advertisement Banner

०७ आइतबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

सरकार, पार्टी सबै असफल

२० सोमबार , बैशाख २०७८४ बर्ष अगाडि

अस्पतालमा शैया छैन, धान्न नसकिने भो भनेर सरकारले हात उठाउँछ भने यस्तो सरकार लोक सरकार हुँदै होइन । यस्तो गैरजिम्मेवार सरकारलाई सत्तामा बस्ने अधिकार छैन ।
यो आपातकालमा राजनीतिक दलहरू कहाँ छन्, राजनीतिक नेताहरू कहाँ छन्, सडल राजनीति गरेर प्रधानमन्त्री फेर्ने जुन कसरत भइरहेको छ, त्यो पनि लोकतन्त्र होइन । यो आपातकालमा के के गर्नुपर्छ, सरकार गैरजिम्मेवार छ भने जिम्मेवार अन्य राजनीतिक दल र नेताहरू बन्नुपर्छ । यो समय सरकार फेर्ने अथवा सरकार ढाल्ने, नयाँ बनाउने समय होइन । यो समय कसरी यो आपातकालबाट जनताको जीउधनको रक्षा गर्ने भन्ने हो । यो बेलामा तमाम राजनीतिक शक्तिहरू एक हुनुपर्छ र यो आपातकालसँग लड्न, भीड्नका लागि सरकारको हात बलियो पार्नुपर्छ । बाँचिएछ भने सरकार जति फेरे पनि हुन्छ, जसको नेतृत्वमा सरकार बनाए पनि हुन्छ । यो समय सरकार फेर्ने होइन, जनताको विपत हेर्ने हो ।
३ तहमा ७ सय ६१ सरकार छन् । तीनै तहका सरकारमा रहेका साधन र स्रोत र राज्य तथा पार्टी शक्तिलाई यो कोरोना महामारी परास्त गर्न लगाउनुपर्छ । अस्पताल छन्, ठूला ठूला महल छन्, पार्टी प्यालेसहरू छन्, गुम्बाहरू छन्, स्कूल–कलेजहरू छन्, ती सबैलाई अस्पताल बनाउन सकिन्छ । अक्सिजन र खोप, औषधि र स्वास्थ्यकर्मीहरूको व्यवस्थापन गर्न सकिन्छ । चौबिसै घण्टा खटिएका स्वास्थ्यकर्मीको कुरा सुन्नुपर्छ, विज्ञ विशेषज्ञहरूको सुझाव अवलम्बन गर्न सकिन्छ । न सरकार एक्लै हिडेर हुन्छ, न सरकार फेरेर हुन्छ, यो आपातकालसँग सबै मिलेर मात्र लड्न सकिन्छ । लोकतन्त्र हो भने लोकतन्त्रमा लोकलाई बचाउने काममा सबै लाग्नुपर्छ । तीघ्रा ठटाएर र एकदोस्रालाई नङ्ग्याएर आपातकाल टर्दैन । लोकलाई बचाउन सकिन्न । महामारी हटाउन सकिन्न ।
सरकार लाचार भयो, राजनीतिक दल र तिनका नेता कार्यकर्ताहरू पनि लाचार भइरहेका छन् । ठूला उद्यमी, व्यापारीहरूले पनि सहयोगको हात बढाएका छैनन् । भ्रष्टाचारी र कमिशनखोरहरू जमजमाएका छन् । सरकारले बेड छैन, खोप छैन, औषधि छैन भनेर सुख पाउँदैन, राजनीतिक दलहरू पनि मौन बसेर जिम्मेवारी पूरा हुँदैन । कोरोनाको महाविपतबाट बच्नका लागि राष्ट्रिय एकता र प्रयास जरूरी छ । पारदर्शी बन्न र उत्तरदायित्व निर्वाह गर्न सबै अगाडि आउने बेला यही हो ।
जनतालाई करमाथि कर थपेका छन् । अलिकति ढिलाचाँडो भए जरिवाना ठोकेका छन् । ती जनताको सेवामा पछि पर्न न सरकारले सक्छ, न राजनीतिक दलहरूले । पछि गर्न सकिने काम थाँती राखेर भए पनि सम्पूर्ण शक्ति कोरोना महामारीबाट बच्न र बचाउनका लागि लगाउने बेला हो यो । अस्पतालमा शैया उपलब्ध गराउन सकिन्न, स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था आयो भन्ने सरकार र यो सुनेर सरकार असफल भयो भन्ने सबै राजनीतिक शक्तिहरूको असफलता हो यो । लोकतन्त्र र संघीयता असफल भए पनि जनता असफल भएका छैनन्, जनतालाई बचाउन सकियो भने गलत गर्नेहरू छाँटिन सक्नेछन्, सही गर्नेहरूलाई जनताले चिन्नेछन् । यसकारण सबै शक्ति एकीकृत हुनप¥यो ।