आमनिर्वाचनको जनादेश भनेको कम्युनिष्ट सरकारका लागि हो । एमाले र माओवादी केन्द्रको गठबन्धनले झण्डै दुई तिहाइ जनमत पाएका थिए । राजनीतिक स्थिरता देउ, सुशासन देउ, शासन गर भनेर जनताले दिएको जनादेश यिनका लागि घीउ नपचेजस्तो भयो ।
जनादेशको अपमान गर्ने अधिकार लोकतन्त्रवादी हुँ भन्ने कसैलाई पनि छैन । हो, प्रधानमन्त्रीले नैतिकता देखाएनन्, नैतिकता देखाउने अरू नेता पनि त भएनन् । लोकतन्त्र भनेको संवैधानिक शासन हो । संविधानले नै काम गर्दैन, नैतिकहीनताले संविधान कुल्चन्छ भने जाने जनतामै हो र जनताले आदेश दिने हो । जनता निर्णायक हुन्छन्, यही हो लोकतन्त्र ।
कम्युनिष्ट सत्तामा छन् । कम्युनिष्ट सडकमा छन् । एउटै एमाले ओली, माधव र वामदेवसहितका ३ गुटमा बाँडिएका छन् ।
एमालेको सरकारलाई समर्थन गर्ने माओवादी केन्द्र सडकमा छ । प्रधानमन्त्रीको राजीनामा माँगिरहेको छ । तर प्रधानमन्त्रीलाई दिएको समर्थन फिर्ता लिन सक्दैन । माखेसांङ्गलो नेकपा र माओवादीले पारेका छन्, न पार्टी फुटाउँछन्, न समर्थन फिर्ता लिन्छन् । प्रधानमन्त्रीको राजीनामा मात्र माँगेर यिनले गर्न खोजेको के हो ? सबे रनभुल्लमा छन् ।्
समस्याको जरो प्रधानमन्त्री हुन्, तर उनी बहुमतको सरकार चलाइरहेका छन् । संविधानअनुसार संसदमा उनको बहुमत छ ।
समस्याको चरो माधव, वामदव र प्रचण्ड गुट हुन् । जो प्रधानमन्त्रीलाई अल्पमतमा पार्न सक्दैनन् । अनि कसरी प्रधानमन्त्रीले राजीनामा दिन्छन्, उनलाई संसदमा कुनै अप्ठेरो नै छैन । कस्तो अप्ठेरो स्थिति ।
यसलाई भनिन्छ, कम्युनिष्टको न हाँसको चाल न कुखुराको चाल ।
यो स्थिति भनेको कम्युनिष्टहरूले सिर्जना गरेको राजनीतिक अस्थिरता र अराजकता हो । कि चलाउन सक्नुपर्छ, जनअपेक्षा पूरा गर्न सक्नुपर्छ, नसके ताजा जनादेशका लागि जनतालाई नै सोध्न जानुपर्छ ।
यता सडकका कम्युनिष्टहरू कांग्रेसलाई, जसपालाई सरकार प्रमुख बनाउने हावादारी हल्ला पिटाएर हिडेका छन् । भएको प्रधानमन्त्रीलाई नहटाई कसरी अर्को पार्टीको नेतृत्वमा सरकार बन्न सक्छ ? प्रधानमन्त्री बहुमतमा छन् भने अर्को व्यक्तिसँग कसरी बहुमत हुनसक्छ ? राजनीतिक खपतका लागि चर्का नारावाजी र गालीगलौजमा उत्रने कम्युनिष्टहरू, राजनीतिक खपतका लागि प्रधानमन्त्री बनिदेउ भनेर कांग्रेस सभापति र जसपाका महन्थ ठाकुरसम्म पुग्ने कम्युनिष्टहरूले बुझ्नुपर्छ, यसका लागि आमनिर्वाचनमा जनताले मतदान गरेकै होइनन् । फेरि किन यिनीहरू राजनीतिक नाटक देखाइरहेका छन् । हिम्मत भए ओलीलाई अल्पमतमा पारेर आफू बहुमत साबित गर्नु, आँट नभए ओलीलाई काम गर भनेर सकारात्मक राजनीतिक वातावरण बनाइदिनु । आमनागरिकलाई अराजकतामा होमेर कतै अर्काको गोटी बन्दाबन्दै देशै सिध्याउनेतिर त यिनीहरू लक्षित छैनन् । आमनेपालीका लागि यो सतर्कताको बेला हो ।