
यो प्रश्न हरेक नागरिकको मुखैमा झुण्डिएको छ । देशभित्र होस् कि विदेश पुगेका नेपाली हुन्, तिनले गर्ने कुरा यही हो । नेपालभित्र रहेका कूटनीतिक वृत्तमा चल्ने चर्चा पनि यस्तै यस्तै हो । यसरी गनाइसक्दा पनि नेताहरू चेत्दैनन् र कसरी सत्तामा भ्रष्टाचार गर्ने भन्ने सोचमा हुन्छन् ।
राजनीतिक नेतामात्र कहाँ हो र, नागरिक समाज, बुद्धिजीवी तथा कर्मचारीहरूसमेत पैसाको थैलो खाएर र ख्वाएर पदासीन हुनपुग्छन् । अनियमितताको अर्को नाम, व्यभिचारको प्रणाली लोकतन्त्र हुनपुगेको छ ।
हो, राजनीति मूल नीति हो । राजनीति बिग्रेपछि राष्ट्रका सबै नीतिहरू भताभुङ्ग बन्न पुगेका हुन् । सोचमा भ्रष्टाचार घुसेपछि शरीरमा भ्रष्टाचारको भाइरसले ग्रस्त पार्नेरहेछ । राष्ट्रको शरीर यतिबेला यही रोगले ग्रस्त छ, सुशासनमा छलाङ् मार्न कोही पनि तैयार छैनन् । जो छन्, भ्रष्टाचारका भाइरसका सामु नतमस्तक भएर ढलापडा भइरहेका देखिन्छन् ।
०४६ साल, ०६३ साल र ०७२ सालका ठूला ठूला परिवर्तनहरू भएका छन् । अझै हामी कूशासनको चर्चा गर्न छाडेनौं । यसको मूल कारण भनेकै हाम्रो सुसुप्त चेतमा जागरूकता नआएर हो । सचेतहरूले जबसम्म नेताले बिगारेको कारण पत्ता लगाएर ओखतीमूलो गर्दैनन्, तवसम्म देशमा यो रोइलो रहिरहने छ । सर्वशक्तिमान नागरिकले यसरी रोएर बाँच्न मिल्छ ?
सडेगलेको नेताहरूलाई चुनावमा किन जिताउने ? तिनले फर्मान जारी गर्दा तिनले दिएका नाराबाजी गर्न किन भीड बनेर जाने ? कुनै नेता पदमा पुग्नासाथ उसैको चाकरीमा गएर उसका सामु गिडगिडाएपछि उसलाई घुस्याह हुन प्रोत्साहन मिल्छ, अनैतिक काम गर्न शक्ति मिल्छ भन्ने नागरिकले किन बुझेनन् ? नेता गलत निर्णय र काम गर्छ भने उसका अघि पछि काम गर्ने कर्मचारी लोभिन्छन् र उनीहरू पनि भ्रष्टाचारका साझेदार बन्छन् । अन्ततः राजनीति र प्रशासन दुबै भ्रष्टाचारमय बन्छ । फोहर खाएपछि महामारी फैलिन्छ, राजनीतिले फैलाएको महामारी खप्ने र खेप्ने देश र जनताले हो, जुन हामी बेहोरिरहेका छौं ।
सच्चा नेताको चुनाव गर्न नसक्ने नागरिक हुन् । नेतालाई बदमासी गर्न उक्साउने र बद्मासी गर्नेलाई दण्डित गर्न नसक्ने पनि नागरिक नै हुन् । लोकतन्त्रमा सर्वशक्तिमान भनेका नागरिक हुन् । सर्वशक्तिमान नागरिक आज भ्रष्टाचारबाट पीडित छ, कूशासनबाट पीडित छ, स्वास्थ्य–शिक्षा–सुरक्षा नपाएर पीडित छ । यसको जिम्मेवार नागरिक स्वयम् हो । नागरिकले सचेत भएर निर्णय गर्न सकेको भए आज नेताले देश बिगार्ने अवसर पाउने थिएनन् ।
सर्वशक्तिमान नागरिकले आफ्नो शक्ति बुझेनन् । यसकारण राजनीतिक दलहरूले स्वार्थका लागि सेटिङ र भागबण्डा गरेर नागरिक हकाधिकार भोगिरहेका छन् । शासन र पद्धतिलाई बिकृत पारिरहेका छन् । गरीब झन झन गरीब भएर गएका छन्, धनी झन झन धनी भइरहेका छन् । कमजोर बर्गले बाँच्नका लागि नाना, खाना र छाना पाइरहेका छैनन् । प्रभाव र दबाबमा शासन चल्न थालेपछि बिधिसमेत माइतीघर मण्डलामा रून थालेको छ । नागरिकको काम मतदान गर्ने र कर तिर्ने मात्र होइन, देशका हरेक कार्यको बहिखाता हेर्ने पनि हो भन्ने नबुझेसम्म नागरिक यसैगरी नेताका हलिया भइरहनेछन् ।