Advertisement Banner
Advertisement Banner

०७ आइतबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

जे पनि बोल्न, गर्न पाइन्न

२० सोमबार , पौष २०७७४ बर्ष अगाडि

नेकपाका नेताहरु दुई गुटमा विभाजित भएको छ  । दुवै गुट एकदोस्राप्रति खुलेर विरोध गरिरहेका छन् । भन्न केही बाँकी राखेनन् । प्रचण्ड र माधव नेपालको गुटले अधिनायकवाद अँगालेको, नैतिकहीन, चरित्रहीनसम्मको आरोप लगाएपछि केपी ओलीमात्र के कम ? उनले पनि प्रचण्डलाई पुड्केसम्मको आरोप लगाए । माधव नेपाललाई प्रचण्डको कारिन्दा भनेका छन् । भन्न हुने र नहुने कुनै बार बन्देज देखिदैन । नेकपा यसरी नाङ्गेझार भएर सार्वजनिक हुनेछ भनेर कसैले सोचेका थिएनन् ।
तीनैजना प्रधानमन्त्री भइसकेका व्यक्ति हुन् । यसरी बोल्दा अन्य नेता र कार्यकर्ताहरुमा कस्तो असर पर्ला, आफूप्रतिको धारणा कस्तो बन्ला ? भन्नेसम्मको पनि हेक्का राखेको देखिदैन ।
हुन त प्रचण्ड–माधव कित्ताले जथाभावी नारा लगाएका छन् । राष्ट्रपतिलाई समेत लाञ्छित पारेका छन् । महिलाको सम्मान गर्नुपर्छ भन्ने सामान्य ज्ञान पनि भुलेका छन् । प्रधानमन्त्रीले सभामुखलाई कीर्ते भनेर विवादमा तानेका छन् भने अदालतमा विचाराधीन संसद बिघटन हुनु ठिक कि बेठिक भन्ने प्रश्नमा दुबैथरिले आफ्नो पक्षमा निर्णय गराउन दबाब सिर्जना गरेका छन् । दुई दुई जना पूर्व प्रधानमन्त्री प्रचण्ड र माधव नेपालले सडकमा बसेर हामी यहाँ छौं भन्नु भनेको चेतावनी दिनु हो, जुन अतिशयोक्ति र अराजनीतिक हर्कत मान्न सकिन्छ ।
केपी ओली के कम, उनका अनेरास्ववियुका कार्यकर्ताहरुले नारा नै लगाए– केपी ओली हिरो हो । को हिरो, को जिरो निर्णयकर्ता जनता हुन्, जनताले मौका पाए भने नेकपाका नेताहरुलाई बताइदिनेछन् ।
राजनीतिक स्थिरताका लागि जनताले झण्डै दुई तिहाइको बहुमत नेकपालाई दिएका हुन् । अब त स्थिरता हुनेछ, समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार हुनेछ भन्ने जनविश्वास थियो, त्यो भताभुङ्ग हुनपुगेको छ । कुनै प्रतिपक्षी दुश्मन लागेर नेकपाको एकता भाँडेका होइनन् । यसमा दोष छ भने नेकपा भित्रको गुटबाजीको छ । नेकपाका नेताहरुलाई भित्रभित्रै उक्साएर उराल्ने र एक अर्काप्रति विष बमन गर्न लगाउने अदृश्य विदेशी ताकतको दोष छ । नेकपाका नेताहरुमा बुद्धि भएका भए विदेशीले यसरी खेल्ने थिएन । नेताहरुलाई सत्ताको नशा यसरी चढाइयो कि उनीहरु सत्ताबाहेक केही देख्न सकेनन् । पार्टीलाई कसरी अनुशासित बनाउने भन्ने सोच्न छाडेर नेताहरु आआफै अनुशासनहीन बन्नपुगे । पछि लाग्ने कार्यकर्ताहरुले आ–आफ्ना गुटको जयजयकार गर्ने नै भए । युवाहरुले आफै नेतृत्व लिन अग्रसर नहुनुले पनि नेकपाका बुढाहरु यसरी मल्लयुद्धमा उत्रनुको कारण हो । नेकपाभित्र होनहोर युवाहरु छन्, आफूभित्रको क्षमता नबुझ्ने युवाहरु नेताकै पिछलग्गु बन्न रुचाए । फलतः नेकपा दुबैतिर प्वाल परेको पुङ्माङ् बन्नपुग्यो । के काम यस्तो पार्टी ?