जनयुद्धबाट उपलव्धि के भयो, जनआन्दोलनले ल्याएको परिवर्तन के के हुन् ? जनयुद्ध र जनआन्दोलन नभएको भए के हुन्थ्यो, भएर के के पाइयो, के के गुमाइयो ? ०४७ सालको संविधान फालियो, नयाँ संविधान जारी गरियो, नयाँ संविधानले मुलुक र मुलुकबासीलाई के के दियो, मुलुक कति दर्बिलो र स्वाभिमान जगायो यो संविधानले ?
हिन्दुधर्म फालेर धर्मनिरपेक्षता घोषणा गरियो, धर्मनिरपेक्षता हुँदा समाज बन्यो कि भत्कियो ? देशको एकता मजबुत भयो कि कमजोर ? राजतन्त्र फालियो, राजतन्त्र फालेर समावेशी समाजको सिर्जना भयो कि भएन, निरंकूशताको अन्त्य गरियो कि गरिएन ?
अव विश्लेषण गर्ने बेला भयो, अहिले विश्लेषण गरिएन भने कहिले गर्ने ? गलत भइरहेको छ भने सच्चिने कहिले ? सुधार्ने कसले र कहाँबाट ? पूर्वाग्रह नराखी विश्लेषण गरौं । भूल सच्याएर अघि बढ्न सक्ने प्राणी भनेकै मान्छे हो । समृद्धि र सभ्य भएर हिड्नका लागि भूल सच्चिनुपर्छ । सही भइरहेको छ भने अझ राम्रो काम कसरी गर्न सकिन्छ भनेर सोच्नुपर्छ ।
बहुदललाई भ्रष्टाचारयुग भन्ने हामी नै हौं । शाही शासनकाल निरंकूशतन्त्र हो भन्ने पनि हामी नै हौं । अव मुलुक अग्रगमनमा लाग्नुपर्छ भनेर जनयुद्ध र जनआन्दोलन गर्ने पनि हामी नै हौं । होला पर्दापछाडि अनेक तत्वले काम गरेको होला तर सडकमा निस्कने र सत्तासँग सिंगौरी खेलेको हामीले नै हौं । हामीले खोजेको परिवर्तन हामीले पायौं कि पाएनौं । लगाएको लुगा फुकालेर नाङ्गो बन्यौं कि लुगा फेरेर शालीन, सभ्य भयौं ? यही विषयले हामीले ल्याएको परिवर्तन माटो सुहाउँदो हो कि होइन भन्ने निष्कर्ष निकाल्न सकिन्छ । त्यो निष्कर्ष निकाल्ने हामी आफैले हो, अरुले होइन ।
परिवर्तन भयो, परिवर्तनबाट खुशी हुनसकिएन किन ? यथास्थितिमा हामी खुशी हुनसकेनौं र जनयुद्ध, जनआन्दोलन गरेर ल्याएको परिवर्तनले पनि हामीलाई आँसु आँसु बनाएर रुवाइरहेको छ भने हामीले परिवर्तन बोकेका छौं कि अनावश्यक भारी ? यो परिवर्तनले सुख र शान्ति दिएन भने हामीले अर्को परिवर्तनका लागि अग्रसर हुने कि नहुने ? खुशी दिएको छ भने यही परिवर्तनलाई किन बलियो पार्नतिर नलाग्ने ?
वर्तमान कालखण्डमा कुनै पनि नागरिक खुशी देखिन्न । मुखमा असन्तोष थियो, अव सडकमा असन्तोष पोखिन थालेको छ । चुपचाप असन्तोष थियो, अव नारा जुलुसमा असन्तोष गर्जिन थालेको छ । यो कस्तो परिवर्तन ल्यायौं हामीले, जसले हामीलाई शान्तिसम्म पनि दिन सकेन ? शान्ति र समृद्धि दुबै स्यालको सिङ् हराएजस्तो भयो भने यो परिवर्तन सराप बनेन र ? हामीले ल्याएको, खोजेको बरदान सराप भयो भने, यस्तो सरापलाई बरदानमा बदल्नका लागि हामी आफै तैयार हुनुपर्छ । कतै ल्याएको परिवर्तनमा अरुकै अंश बढी भएर हो कि हकदार पनि अरु नै बनेका छन् र यो परिवर्तनमा नेपालीको अपनत्व कायम हुनैसकेन । जबसम्म कुनै परिवर्तनमा जनताको अपनत्व कायम हुनसक्दैन, त्यो परिवर्तन देखावटी परिवर्तन मात्र हुने । यसकारण अव हामीले हेर्ने भनेको– हामीले परिवर्तनबाट के पायौं ? किन परिवर्तन हाम्रा लागि साझा गौरव बन्न सकेन भन्ने नै हो ।