Advertisement Banner
Advertisement Banner

०७ आइतबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

लोकतन्त्रमा कमजोर राष्ट्रबाद

२४ सोमबार , कार्तिक २०७७४ बर्ष अगाडि

लोकतन्त्रमा लोकलाई मजुबुत बनाएपछि राष्ट्रबाद बलियो हुने हो । लोकप्रतिनिधिहरुले संविधानलाई लत्याउने, आत्मसम्मान र कर्तव्यवोध नगरेकै कारणले लोक कमजोर बन्दै गएका छन् । लोक कमजोर हुनु लोकतन्त्र कमजोर हुनु हो, राष्ट्रबाद कमजोर हुँदै जानु हो । संविधान, सरकार, राष्ट्रपति, संसद लोकका नजरमा सधैं सम्मानित हुनुपर्छ । सम्मानित सीमामा बस्नुपर्नेहरुले अविश्वसनीयता बढाउँदै आफूले आफैलाई अवमुल्यन गर्दै गएका कारणले गर्दा लोकतन्त्र नाममात्रको र राष्ट्रबाद कमजोर बनेको छ ।
संसद, सरकार र राष्ट्रपतिले सकेसम्म गल्ती गर्ने अनि आफ्ना अपराधहरुलाई जसरी पनि छोप्ने र लुकाउने प्रवृत्ति बढेर गएको छ । यहीकारण हो कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका कसैप्रति पनि लोकविश्वास घटेर गएको छ । २०४६ र २०६३ सालमा जुन परिवर्तन भयो, त्यो परिवर्तनको भार परिवर्तनका अगुवाहरुले उठाउन सकेनन् । यतिमात्र होइन, राष्ट्रिय अपराध गर्दागर्दै राष्ट्रघात समेत गर्न पुगेका अनेक उदाहरणहरु सार्वजनिक भइरहेका छन् । जनताको भरोसा जितेर जिम्मेवारी लिने अनि जनजिम्मेवारीलाई स्वार्थमा उपयोग गर्ने गरेकाले विश्वासको संकट दिनदिनै बढेर गएको छ । विश्वासमा ह्रास आउनुले राष्ट्रबाद कमजोर बनेको छ ।
लोकतन्त्रका लागि जनतालाई सडकमा उतार्नेहरु सबै बनिबनाउ भएका छन् । जो सडकमा उत्रिए, सहादत भए, लोक रगतको आँसु रोएर बस्नु भनेको लोकतन्त्रको अपमान हो । लोकतन्त्रमा पहिले लोक हुनुपर्छ । नेपालका सन्दर्भमा पहिले सत्तासीन, प्रभावशाली बर्ग हुनपुगे । लोक साह्रै सकसमा बाँचिरहेका छन् । सकस झेल्न नसक्नेहरु रोगले मरिरहेका छन्, कतिपयले बाँच्न नसकेर आत्महत्या गरिरहेका छन् । लोकतन्त्रमा लोकले बाँच्न नसकेर आत्महत्या गर्नु भनेको संविधान म¥यो, संसद गैरजिम्मेवार भयो, सरकार असक्षम रह्यो र राष्ट्रपति राष्ट्रको हुन सकिनन् भन्ने नै हो । यस्तो कहालीलाग्दो स्थिति भनेको देश असफल भयो भन्ने संकेत पनि हो । लोकतन्त्रमा देश असफल हुनुको सम्पूर्ण जिम्मेवार नेतृत्वगणमा जान्छ ।
भारतका जासूसी संस्था रअका प्रमुख नेपाल आउनु र प्रधानमन्त्रीसँग गोप्य कुरा गरेर फर्कनु, स्थल सेनाध्यक्ष आउनु र सम्मान लिएर फर्कनु महत्वपूर्ण घटनाक्रम हुन् । देशको हितमा कुरा भएका छन् भने सुरक्षा र सैनिक कूटनीतिलँई नकारात्मक रुपमा हेरिनु हुन्न । यदि षडयन्त्रको तानाबाना बुनियो भने त्यो निन्दनीय घटना नै हुनेछ । समयक्रममा जतिसुकै गोप्य कुराहरु भए पनि खुलासा हुने नै छन् । नेपाल र भारतवीच सीमा सम्बन्धका कारणले मित्रता तिक्ततापूर्ण नै छ । भारतले अतिक्रमण गरेका भूमि फिर्ता गर्ने तोर तरिकाका सम्बन्धमा भारतका प्रधानमन्त्रीले संवादको थालनी गर्दै पत्र पठाएका हुन् भने त्यो स्वागतयोग्य नै हुनेछन् । सरकारप्रति लोकविश्वास बढाउने कुनै पनि कार्यको कुनै पनि बेला प्रशंसा गर्नुपर्छ । त्यस्ता कामको पक्षमा आमलोकले सरकारलाई हौसला दिनैपर्छ । यदि सत्ता षडयन्त्र हो, देश घातक कानेखुशी हो भने यस्ता कार्यहरु अराष्ट्रिय हुनेछन् र राष्ट्रबाद कदापि बलियो बनाउन सक्नेछैन । चाहिएको छ, सवलता, सफलता र जनअपेक्षाको परिपूर्ति । राष्ट्रबाद बढाउने कार्य यता निर्देशित र प्रेरित हुनुपर्छ ।