ज्ञानेन्द्र शाह ः नागरिक जीवनको एउटा ज्वलन्त उदाहरण ।
हिजो अधिराजकुमार थिए, पछि राजा भए । जनताको मर्जी, नागरिक हुने आदेश हो भने नागरिक हुन्छु भनेर बेला बेलामा नाचगानदेखि सामान्य सार्वजनिक जीवन देखिन्छ । परम्परागत संस्कार धानेर र मानेर बसेका पूर्वराजा ज्ञानेन्द्र शाह कति सजिलै नागरिक जीवन स्वीकार गरेको देखिन्छ ।
पारस शाहले उहिल्यै नै भनिसकेका हुन्, मलाई राजा हुनुछैन । उनलाई राजतन्त्रका बारेमा थप केही चर्चा गरिरहनु निरर्थक छ । किनकि पारस शाहले आफूलाई नागरिक हुँ भनेर स्वीकारेको धेरै भइसक्यो ।
सामाजिक सञ्जालमा पूर्व युवराज्ञी हिमानी शाह, छोरा र छोरीहरुका साथमा सामाजिक जीवनमा घुलमिल भइरहेको दृश्य पनि रोमाञ्चक लाग्छ, अझ आमाछोरीहरु साथसाथै नाचेका दृश्यहरुले जीवनलाई कसरी खुशी राख्न सकिन्छ भन्ने उदाहरण देखाइरहेका छन्, गजबको परिवर्तन हो यो ।
मुलुकमा पद्धति परिवर्तन भयो । राजा, युवराज, तिनका सँग र जनताको आवश्यकता के छ, भविष्यको कुरा कसलाई थाहा छ र ?
वर्तमान महत्वपूर्ण हो र वर्तमान भनेको नेपालमा कोही राजा छैनन्, सबै नागरिक छन् । नागरिकहरु सुखी छन् कि दुःखी, मुख्य प्रश्न हो यो ?
राजा सच्चिए, राजपरिवार सच्चियो तर बिग्रियो राजनीति ।
राजनीति व्यापार बन्यो । राजनीति व्यवसाय बन्यो । राजनीति लाजनीति बन्यो । उच्च प्रकृतिको समाजसेवा हुनुपर्ने राजनीति शाहुकारी बन्यो । समाजको चलनचल्तीमा मिटरव्याज भन्ने शव्द छ । राजनीति त्यही मिटरव्याजेनीति बन्यो । त्यसकारणले त जनताको मुहार मलिन छ, आँखामा आँसु छ, भोको पेटले नागरिक न रुन सक्छन्, न हाँस्न ? नागरिक दासजस्ता छन्, राजनीतिमा लागेकाहरु मालिकजस्ता । राजनीति गर्नेहरु महलमा बस्छन्, सम्भ्रान्त जीवन बाँच्छन्, बाँकी नागरिक सडकमा असरल्ल छन् । केही प्रतिशत होलान्, जो धनीमानी होलान्, अधिकांश नागरिक रोग, भोक र शोकले ग्रसित छन्, त्यसमाथि कोरोना भाइरसबाट प्रताडित छन् ।
सच्चिएनन्, राजनीति गर्नेहरु सच्चिएनन् ।
राजा सच्चिए । केही प्रतिशत नागरिकहरु पनि सच्चिए तर राजनीति गर्नेहरु बिग्रिए । राजनीति गर्नेहरु नागरिकको जीवन हरण गरेर कमिशन खाइरहेका छन् । प्रत्येक निर्णयमा भ्रष्टाचार गरिरहेका छन् । जुका हुन् कि किर्ना, नागरिक जीवनका हरेक अङ्ग अङ्गमा टाँस्सिएर रगत चुसिरहेका छन् । न देशलाई छाडे, न नागरिकलाई । यिनै रक्तपिपासुहरु भन्छन्– लोकतन्त्र । लोकतन्त्र । लोकतन्त्र भनेको लोकलाई चुस्नु, दमन गर्नु, अत्याचार गर्नु होइन । तर लोकतन्त्रका महिमा र गरिमासमेत समाप्त पारेर यी राजनीति गर्नेहरुले लोकतन्त्रको उपहास उडाइरहेका छन्, तर कतिञ्जेल ?