Advertisement Banner
Advertisement Banner

०७ आइतबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

के ग-यो एकताले ?

१९ सोमबार , आश्विन २०७७५ बर्ष अगाडि

देउवाले कांग्रेस फुटाए, एकीकृत भए, भ्रष्टाचारभन्दा केही भएन । वामदेवले एमाले फुटाए, मूलधारमा गए, भ्रष्टाचारमात्र भयो । मोहन बैद्य र प्रचण्ड टुटफुट भए, प्रचण्ड भ्रष्टाचारी नेताको आरोप बोकेर राजनीतिमा छन् । विप्लव फुटेर गए, भ्रष्टाचारीमाथि कारवाही गर्ने धमास दिन्छन्, भ्रष्टाचार र व्यभिचार झन बढेर गएको छ ।
पछिल्लो समय एमाले र माओवादी केन्द्र अर्थात प्रचण्ड र केपी ओलीले पार्टी एकीकरण गरे । मिलेर चुनाव जिते, पार्टी मिलाए, नतिजा के निस्क्यो– उही अति राजनीतिकरण, भ्रष्टाचारै भ्रष्टाचार ।
आजको दिनमा सत्ताधारी र सत्ताइतरका ठूलासाना सबै पार्टीमा न नैतिकता देखिन्छ, न नीति छ, न सिद्धान्तप्रतिको निष्ठा नै छ । जे छ, एउटै धार छ कसरी सत्तामा जाने, कसरी शक्तिशाली बन्ने र कसरी भ्रष्टाचार गरेर रातारात अर्वपति बन्ने । प्रत्येक पार्टीका नेता वा कार्यकर्ता जो पदमा जान्छन्, तिनले सम्पत्ति विवरण बुझाएर पदासीन हुने व्यवस्था गरेको भए आज यसरी भ्रष्टाचारको बिगबिगी बढ्ने थिएन । न त सबै प्रकारका कर्मचारीतन्त्रमा पदासीन हुनुपूर्व सम्पत्ति विवरण बुझाउने परिपार्टी लागू गरेको भए यति धेरै भ्रष्टाचारको महामारी बढ्ने थिएन । कानुन त छ, सम्पत्ति विवरण बुझाउनै पर्ने, दण्डको व्यवस्था पनि छ तर न मन्त्री, सचिव, न अन्य कर्मचारीले नै सम्पत्ति विवरण बुझाउने गरेका छन् । संवैधानिक पदमा बस्नेहरुले नै घूस खाएका घटना सार्वजनिक हुन थालेपछि संविधान हुनु नहुनु अथवा कानुन हुनु र नहुनुमा कति नै भिन्नता बाँकी रह्यो र ?
सुशासनको प्रत्याभूतिका लागि खडा गरिएको हो अख्तियार र सतर्कता केन्द्र । अझ राष्ट्रिय अनुसन्धान विभाग पनि छ । जे छ सबैमा सरकारको दबाब र राजनीतिक प्रभाव हावी छ । अदालतमा समेत राजनीतिकरण बढेर गएको छ । यसको अर्थ नैतिकताको च्यूतक्रम बढ्नु हो । जब नैतिकता नै बाँकी रहदैन, कानुन व्यवस्था चरमराउनु स्वभाविक हो । यतिबेला लोकतान्त्रिक संविधान चरमराइरहेको अवस्था छ ।
न पार्टी प्रणालीमा सुधार आयो, न एकीकृत राजनीतिक दलहरुमा नैतिक धरातलको कुरा उठ्यो । न त सुशासनका लागि हरेक राजनीतिक प्राणीहरुले आवश्यकता नै अनुभव गरेका छन् । समाजमा सुसंस्कृतपन, जवाफदेहीता रुपान्तरण हुनुपर्ने हो, भ्रष्टाचार र अनैतिकता रुपान्तरण भइरहेको छ । हरेक सवाल नेतामा र नेताको आशीर्वादमा टिकाउ हुनथालेपछि राजनीति अपराधिकरण हुनु स्वभाविक हो । राजनीति उच्चस्तरको स्वयम्सेवा हो । राजनीति व्यवसाय बन्दै गएको छ र राजनीतिमा लाग्नेहरु पैसा कमाउन पाइन्छ भनेर भ्रष्टाचारविरुद्ध, सिद्धान्तहीनताविरुद्ध बोलिरहेको अवस्था छैन । यसकारण राजनीति पतनोन्मुख अवस्थाबाट गुज्रिरहेको छ । जब राजनीतिक कार्यकर्ताले आफ्नो भविष्य नेताको चाकरीमा देख्छ, अनि नीति, नैतिकता र सिद्धान्त भनेको कागजको खोस्टोमा देखाउने अक्षरमा सिमित हुन्छ । अहिले यही भइरहेको छ, राजनीतिप्रति आमनागरिकमा उदासीनता र घृणाभावको विकास पनि भइरहेको छ । यो चिन्ताको विषय हो ।