
मान्छेभन्दा राम्रो बस्तु अरु केही छैन पृथ्वीमा । मान्छेमा विवेक भएकाले सबैभन्दा राम्रो सिर्जना भएको हो मान्छे । तर त्यही मान्छेले विवेक गुमाएपछि सड्छ र गनाउँछ । यतिबेला नेपाली समाजमा जिम्मेवारी पाएकाहरु सबैभन्दा बढी सडेका छन्, गनाएका छन् ।
देशको सेवा गर्छु, जनताको सेवा गर्छु, संविधान मान्छु, विधिमा चल्छु, विवेकशील बन्छु भनेर मान्छे जागीर खान्छ, नियुक्ती लिन्छ, संवैधानिक पदहरुमा जान्छ र न्यायाधीशसमेत बन्छ । देशको शासभारको कमान आफ्नो हातमा पनि लिन्छ, बिधि निर्माता पनि उही, राज्य सञ्चालक पनि उही । समाज निर्माता पनि उही, सभ्यतालाई अघि बढाउने कारीगर पनि उही । तर त्यही मान्छे किन यसरी सड्छ र समाज नै दुर्गन्धित पारेर गनाउँछ । आश्चर्यपूर्ण घटना लाग्छ ।
मान्छे विवेकशील छ, विवेक हराएपछि हुने त पशु नै हो । विवेकशील मान्छेमा सबैभन्दा ठूलो गुण लोकलज्जा हुन्छ । लोकले के भन्ला भनेर उसभित्र सधैँ भय हुन्छ र इज्जतको ख्याल राखेर बोल्छ, काम गर्छ र अरुलाई पनि लोकलज्जामा बस्नुपर्छ भनेर सिकाउँछ । नेपालका सन्दर्भमा जो पदमा पुगेका छन्, उ, भ्रष्टाचारमा लाग्छ, कमिशन खान्छ र सेटिङ मिलाएर सिण्डिकेट चलाउँछ र कालोधन कमाउँछ । सरकारमा बस्ने, दण्डित गर्ने निकायका व्यक्तिहरु यसमा सामेल हुन्छन् र भागशान्ति जयनेपाल गरेर नाच्छन् । यही विवेकहीन नाटक देशमा चलिरहेको छ र यिनै नाटकेहरु विवेकी छु भनेर नौटंकी देखाइरहेका छन् ।
लाटाले पनि पत्याउँदैन, जो सत्ता र पदमा छन्, उनीहरु नैतिक आचरणमा छन् भनेर । कुनै पनि मन्त्री वा पदाधिकारी जब भ्रष्टाचरामा डामिन्छ, एकाध व्यक्तिको पदमात्र गएको छ, न छानबिन भयो, न उसमाथि कारवाही नै चल्यो । कारवाही नै नहुने भएपछि मान्छेमा विवेकहीनता बढ्ने रहेछ । समृद्ध नेपाल र सुखी नेपालीको नारा लगाउने व्यक्तिको नेतृत्वको सरकार र राज्यका सबै सञ्जालहरुमा विवेकहीनता बढेर गएको छ, भ्रष्टाचारको बाढी नै चलेको छ । यो कुरा केही सांसद भन्छन्, न्यायाधीश भन्छन्, प्रशासक भन्छन् तर भ्रष्टाचार घटेको छैन, झन झन बढेर गएको छ । यसरी भ्रष्टाचार बढ्नु भनेको सत्ता र प्रशासनसँग मिलेर व्यभिचार भइरहेछ र सरकारले व्यभिचारीको संरक्षण गरिरहेको छ । कहिलेसम्म यस्तो नैतिकहीनता चल्ने ?