
संविधानका अक्षरहरु मृत हुन्छन्, अर्थात अक्षरमात्र हुन् । ती अक्षर तव मन्त्र बन्छन् जब अक्षरका भावनालाई देशबासी सबैले आत्मसात गर्छन् । संविधानको परिपालना नै संविधानको प्राण हो । संविधान जिवन्त छ भन्ने प्रमाण हो । संविधानले संवैधानिक निकायहरुको परिकल्पना गरेको छ, सन्तुलन र नियमनको व्यवस्था पनि गरेको छ, प्रत्येक नागरिकको दायित्व स्पष्ट लेखिएको छ । सरकार सञ्चालनका बिधि पनि किटान गरिएका छन् । तर संविधानलाई संविधानका मर्यादाअनुकूल प्रयोग गर्नुको साटो दुरुपयोग गर्ने सिलसिला बढेर गएकाले प्रश्न उठेको छ– संविधानमा जीवन छ, जिवन्त छ संविधान । जबसम्म संवैधानिक निकायहरुले संविधानले किटान गरेका दायित्व इमानका साथ निर्वहन गर्दैनन् र संविधानप्रति जवाफदेहीता लिदैनन् तवसम्म संविधानप्रति निष्ठा, नैतिकता, प्रेम र क्षमता देखिदैन । अहिले यस्तै अवस्था छ । यसकारण संविधान निसास्सिएको अवस्थामा छ । संविधानको दुरुपयोग ज्यादा भएकाले संविधान ऐठनमा छ ।
हरेक वर्ष संविधान दिवस मनाइन्छ, संविधानको पालनामा कति निष्ठा देखियो भन्ने मिमांसा हुने गरेका छैनन् । हरेक शासक र प्रभावकारी व्यक्तिहरु संविधानको दुरुपयोग गर्न र आफ्नो पक्षमा व्याख्या गर्न लालायित छन् । संविधानको व्याख्याता अदालत समेत व्यापक आलोचनाको पात्र बनेको छ । जब न्यायाधीशहरु नै यसरी घूसमा मुछिन्छन्, न्याय सम्पादनमा कमजोरी देखाउँछन् र शासन प्रशासनका जिम्मेवारहरु कानुनको गलत व्याख्या गरेर निकासका ढोकालाई झ्याल र झ्याललाई ढोका बनाइरहेका छन्, संविधानका सीमाहरु तोडेर फोडेर अनेक ढोका बनाइरहेका छन्, त्यो अवस्थामा संविधान जिवन्त छ भन्न सकिन्न । संविधान कतै दुर्घटनामा त परिसकेन ?