
भारत हेपाह छ, हस्तक्षेपकारी छ, अतिक्रमण गर्नु नै उसले आफ्नो बहादुरी सम्झेको छ । यहीकारण भारतको छिमेकी मुलुक कसैसँग पनि सुमधूर सम्बन्ध छैन । दक्षिण एसियाका हरेक मुलुक भारतसँग सधैँ संत्रस्त रहने गरेको छ । बाध्यकारी बोलचाललाई मीठो सम्बन्ध मान्न सकिन्न । नेपालसँग १८८० किलोमिटर लामो खुला सीमा छ, जोकोही आवतजावत गर्नसक्छन्, रोटीबेटीको सम्बन्ध छ भन्छ भारत तर नेपाली जनमानसमा भारतका प्रति घृणाभावको समुद्र नै देख्न सकिन्छ । यसको मूलकारण भारतीय दुव्र्यवहार हो । हरेक दिन सीमा मिच्छ, सीमा आरपार गर्ने नेपालीलाई लुट्छ, दुःखदिन्छ, बलात्कार गर्छ, नेपालीलाई कुट्छ तैपनि नेपालले सहिरहेको छ र भनिरहेको छ– सम्बन्ध सुधार गरौं । जे जति तिक्तता छ, ती हटाएर प्रमाणका आधारमा संवाद गरौं र सदाका लागि सीमा समस्या सल्टाऔं । तर भारत सीमा समस्या सल्टाउन तैयार छैन । भारत नेपाललाई मुठ्ठीको माखो बनाउन चाहन्छ, नेपालमा आफ्नो आर्थिक, सामाजिक, राजनीतिक र कूटनीतिक प्रभाव बढोस्, कम नहोस् भन्ने चाहिरहेको छ र एउटा हातले नेपाललाई सहयोग गरेजस्तो गरेर दुबै हातले लुटिरहेको छ । नेपालका शासक, प्रशासक, जातजातिहरुमा लडाउने र हत्याउने नीति अख्तियार गरिरहेको छ । भारतको यही प्रवृत्तिका कारण नेपाली जनमानसमा भारतको इज्जत धुलिसात भइसकेको छ । यद्यपि नेपाली र भारतीय जनस्तरमा कुनै तिक्तता छैन । तिक्तता केबल भारतीय शासक बर्ग र तिनको नेपाली राजनीति र प्रशासनमा भइरहेको हस्तक्षेप र सीमा अतिक्रमणका कारण बढेको हो । भारतीय शासकलाई थाहा छ, तर भारतीय शासकबर्ग आफूलाई हवल्दारी बनाउन चाहिरहेको छ र त्यस्तै अनुहार देखाइरहेको छ । यहीकारण भारतले नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रमात्र होइन, ७१ स्थानमा ६० हजारभन्दा बढी हेक्टर नेपाली भूमि अतिक्रमण गर्नुलाई बहादुरी सम्झिरहेछ ।
भारतीय स्वतन्त्रता दिवसका दिन नेपालका प्रधानमन्त्रीले बधाई दिएपछि नेपाल–भारतवीचको ५ महिना लामो बोलचाल खुलेको छ । फोनवार्तापछि परराष्ट्र सचिव र भारती यराजदूत स्तको संयन्त्रको वैठक भएको छ र अव सीमा वार्ताबाट समस्या समाधानमा प्रवेश हुने सम्भाबना देखिएको छ । यद्यपि भारतीय पक्षको चिसोपन सुकेको छैन, भारत संवादहीनतालाई तोड्नमात्र खोजिरहेछ । जेहोस्, संवाद सुरु भएको छ । नेपालले प्रशासनिक, राजनीतिक, कूटनीतिक सबै माध्यमहरुबाट संवादलाई अघि बढाएर समस्याको हल निकाल्नेतिर थप प्रयास गर्नैपर्छ । सम्बन्ध सुधार्ने पहलमाथि पहल गर्नैपर्छ ।