Advertisement Banner
Advertisement Banner

०७ आइतबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

बुढा नेताहरुको चुरीफुरी, युवा मौन

०१ सोमबार , भाद्र २०७७५ बर्ष अगाडि

नेपाली कांग्रेस अधिवेशनमा जाँदैछ । नेकपा अधिवेशन निकट छ । एकीकृत राप्रपा पनि अधिवेशनतिर लम्किएको छ । जसपादेखि अरु भुरे टाकुरे पार्टीहरु पनि नेतृत्वकै खिचातानीमा छन् ।
प्रत्येक अधिवेशनले सक्षम र सवल नेतृत्वको परिकल्पना गरेको हुन्छ, तर ठूला साना सबै पार्टीमा बानप्रस्थ गर्नुपर्ने बेलाका बुढाहरुको चुरीफुरी ब्यापक छ । युवा नेताहरु तिनै बुढाहरुको फेर समातेर दायाँबायाँ गरिरहेका देखिन्छन् । अव युवालाई नेतृत्व हस्तान्तरण गर, युवा सक्षम छन्, युवाले हाँक्नुपर्छ पार्टी भनेर भन्न सक्दैनन् । होनहार युवाहरु हरेक पार्टीभित्र प्रशस्त छन् तर ती युवाहरुमा नेतृत्वमा दावी गर्ने हिम्मत र आँटको कमी छ । युवाहरु आश्रितजस्ता लाग्छन् ।
देशका युवाहरु देशभित्रै संघर्ष गर्न छाडेर वैदेशिक रोजगारीमा पलायन भइरहेको छन् । सरकारी तथ्याङ्कमा २६ लाख भएपनि ६२ लाख युवाहरु बैदेशिक रोजगारीमा छन् । कोरोनाको कारण बिसौं लाख स्वदेश फर्केका छन् तैपनि ती युवाहरु स्वदेशमा केही गरेर स्वदेशमै बस्ने मानसिकतामा अझै देखिएका छैनन् । जो बढी चेतनशील र सक्षम छन्, ती युवाहरुमा पराजीत मानिसिकता भएकाले बाँकी युवाहरुमा पनि साहस र उत्साहको कमी भएको यथार्थ बुझ्न सकिन्छ ।
यही बेला हो, बुढा बा, हजुरबाहरुलाई आराम गर्नोस् भन्ने । राजनीति सबै नीतिहरुको मूल भएकाले राजनीतिमा बुढाबाहरुलाई आराम दिने बेला यही हो । युवाहरु राजनीतिक नेतृत्वमा आउने समय यही हो । यो बेलामा पनि युवाहरु उत्साहित भएनन्, अग्रसर हुनसकेनन् भनेर फेरि ५ वर्ष बुढाहरुकै दायाँबायाँ राजनीति घुमिरहनेछ । बुढाहरुले पटक पटक सत्ता चलाए, पार्टी चलाए, जनतालाई आश्वासन दिए, देशलाई सम्पन्न गराउने सपना पनि देखे तर केही गर्न सकेनन् । जनताप्रतिको जवाफदेहीता र देशप्रतिको कर्तव्य पूरा गर्न नसक्दा आमनागरिकमा उदासिनता बढेर गएको छ । राजनीतिप्रति विश्वास मरेर गएको छ । यो लोकतान्त्रिक पद्धति र पार्टी व्यवस्थाका लागि दुर्भाग्यपूर्ण परिस्थिति हो । केही गर्ने सौभाग्यका धेरैवर्ष यसै गरी खेर गएका छन् । गल्ती सच्याउन सकिएन भने गल्तीमाथि गल्ती बढ्दै जानेछ । यही समय हो, युवाहरुले आफ्नो शक्ति देखाउने । युवाहरुले परिवर्तनको बिरासतको भार बोक्ने र देशप्रति जिम्मेवारी लिने । बुढाहरुले जति गर्नसक्थे गरे, जे अपेक्षा थियो, गर्न सकेनन् । अव युवाहरुले जनअपेक्षालाई संबोधन गर्नुपर्छ । जनअपेक्षाको संबोधन गर्न नसक्ने कुनै पनि पद्धति लामो समय टिक्न सक्दैन । युवाहरुले यही समयमा आफूलाई सक्षम र जिम्मेवार बनाउनु जरुरी छ । तवमात्र देशले अग्रगमनको फड्को मार्नसक्ने विश्वास गर्न सकिनेछ ।