
नेपाल राष्ट्रवाद तरल हुनसक्दैन । नेपाली राष्ट्रवादमा गौरव नगर्ने व्यक्ति संसदमा उपस्थित हुनसक्दैन । तर नैतिकताको खडेरी लागेकाले संविधानमा आगो बाल्ने व्यक्ति, संविधान मान्दिन भन्ने व्यक्ति सांसद छ । कानुनले अपराधी भनेको व्यक्ति पनि संसदमा छ । अनि पार्टीहरु राष्ट्रिय मुद्दाहरुमा कसरी देखिन्छन् । पहिलोपल्ट नेपाली भूभाग लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपालको अध्यावधिक नक्सामा समावेश गर्ने विषयमा राष्ट्रिय सहमति बन्यो तर ती अतिक्रमित भूमि फिर्ता ल्याउने विषयमा जुन राष्ट्रिय एकता थियो, खण्डित भइसकेको छ । राष्ट्रवादी देखिने, राष्ट्रवादी प्रमाणित हुने कार्यमा मौनता साध्ने, अतिक्रमणकारी रिसाउ“छ कि भनेर नबोल्ने । यही तरिकाले नेपालको राष्ट्रियता कमजोर भएको हो, विदेशीले हेपेको र हस्तक्षेप बढाउनुको कारण पनि हो ।
हरेक पार्टीमा चर्का भाषण गर्ने नेताहरु छन् । हरेक पार्टीमा भाषणबाट महान देशभक्त चिन्न सकिने नेताहरु छन् तर व्यवहार र तिनीहरुभित्र विचारमा भिन्नता छ । हात्तीका दा“तजस्ता छन् नेताहरुको कथनी र करनी । बुझ्नै सकिन्न । ठूला दुई पार्टी छन् नेकपा र नेपाली कांग्रेस । यिनमा ५ देखि ८ लाखसम्म कार्यकर्ता छन् । राप्रपा, मधेशवादी पार्टीहरु छन्, अरु ससाना पार्टीहरु पनि छन् । हरेक पार्टीका नेताहरुको बोली र व्यवहारमा भिन्नता पाइन्छ । र, नेताको बोलीका पछाडि लागेर उफ्रने कार्यकर्ताहरुको कमी छैन । हिजो वीपी थिए, मदन भण्डारी र मनमोहन अधिकारी थिए । ती नेताको अवसानपछि कुनै त्यस्तो विश्वसनीय, आत्मनिर्णय गर्नसक्ने र इच्छाशक्ति भएको राजनेता कुनै पनि पार्टीमा छैनन् । यहीकारण हो, लोकतन्त्र सफल हुननसकेको । पद्धति कमजोर भएपछि राष्ट्रिय सार्वभौमिकता कमजोर हुनेरहेछ । नेपाल र नेपालीले आज जे भोगिरहेका छन्, नेताहरुको आत्मगौरव पतन भएकाले हो ।