Advertisement Banner
Advertisement Banner

२५ शनिबार, माघ २०८२9th January 2026, 2:05:00 am

कालकूट विष, ब्यर्थ बबाल

२१ सोमबार , पौष २०७१११ बर्ष अगाडि

दुईपटकको निर्वाचन र ७ वर्षको कार्यकालमा पनि माखो मार्न नसक्ने नेताहरु धक्कु लगाउँछन् कालकूट विष मै पिउँछु। संविधानसभाका मुख्य दलहरुवीच संविधान निर्माणका अन्तरवस्तुमा सहमति नबनेपछि सभामुख आफै अघि सरे– संविधानको मस्यौदा मै लेख्छु, विधेयक बनाएर मै पेश गर्छु, जति पनि कालकूट विष हुन्छ मै पिउँछु। हाजिरजवाफजस्तो तरिकाले प्रमुख प्रतिपक्षी नेता प्रचण्डले भनिहाले– हामी तपाईलाई कालकूट विष पियर मर्न दिन्नौं। यो कस्तो नाटक हो। मानौं संविधान लेखन भनेको समुद्र मन्थन हो। मन्थनबाट निस्कने अमृतको कुरा कोही गर्दैन, विषपानको बबाल सुरु भएको छ। अशान्तिको फोहरलाई बढारेर शान्तिको बिगुल बनेर आउनु पर्ने संविधान अव कालकुट विष र अमृतको बहसमा गएर अड्किएको छ। संविधान निर्माण भनेको मुलुकको मूल कानुन निर्माण हो। यो कुनै दही मथ्ने अथवा समुद्र मन्थन गर्ने विषय नै होइन। सबै नेपाली एक छौं, हामी सबैको पहिचान र एकतामा बल पुर्‍याउने बिधि यही हो, यसैमा सहमति गरौं भनेर संविधान जारी गर्ने दिन माघ ८ नजिकिदै गर्दा संविधानसभामा बबाल सुरु भयो– कालकूट विष।

सभामुखले सबै दललाई एकै ठाउँमा राखेर छलफल गराउने काम कहिल्यै गरेनन्। मुख्य ४ शक्तिको मुख हेरेर सभा सञ्चालन गर्दा संविधानसभाका ३१ दलहरुमध्येका २७ दल सभामुखको क्रियाकलापबाट सन्तुष्ट छैनन्। सभामुख स्वतन्त्र हुन्छन् र उनले सबै दललाई उत्तिकै समान दृष्टिकोणले व्यवहार गर्नुपर्छ, जुन व्यवहारका लागि सभामुख आलोचित भइरहेका छन्। संवैधानिक वार्ता तथा सहमति समितिको जानकारी पाइसकेपछि सबै निर्क्यौल संविधानसभाबाटै गर्न गराउनका लागि सभामुखले एजेन्डा पेश गर्नुपर्नेमा आफैलाई संविधानसभाभन्दा माथि सर्वेसर्वा हुने अधिकार मागेर सभामुखले संविधानसभालाई निरर्थक बनाइदिने नयाँ चलखेल सुरु गरेका छन्। उनले सबैसँग सर्वाधिकार (पञ्जाछाप) मागेका छन्। मै संविधान तैयार गरेर बिधेयकका रुपमा पेश गर्छु, छलफल गरेर पास गर्नोस् भन्ने सभामुखको प्रस्तावलाई कांग्रेस एमालेले स्वावास् भनेर समर्थन गरेका छन् भने प्रतिपक्षी लगायतका दलहरुले यो अतिशयोक्ति हो भनेर खारिज गरिदिएका छन्। हुन पनि सिंगो संविधानसभाको हुर्मत लिने साहस सभामुख सुवास नेम्वाङले किन गरे? यो साहसमा उनी एमाले हुन्, एमालेभन्दा माथि उठ्न सकेनन् भन्ने दुर्गन्ध सबैले अनुभव गर्न पुगे। जुन दुर्भाग्यजनक हो। जनप्रतिनिधिसभाले जुटाउन नसकेको सहमति एउटा सभामुखले कसरी जुटाउन सक्छ? यो त आफ्नो इतिहास बनाउने स्वार्थी साजिसमात्र हो। सभामुखको यस्तो भूमिका विश्वको कुनै पनि मुलुकमा नजिरका रुपमा कायम छैन, जुन नेपालमा सुवास नेम्वाङ्ले सभासदलाई भेडा बनाउन दृष्टान्त स्थापित गर्न खोजेका छन्। छलफल र बहस जारी छ, सहमति बन्न सकेको छैन। यसको अर्थ संविधानसभा निकम्मा, नालायक हो र सभामुखमात्र लायक हो भन्ने हो र? जुन दिन राजनीतिक दल र नेताहरुमा दलीय दृष्टिकोणको पर्दा उठ्ने छ र राष्ट्रिय कर्तव्यवोधको हेक्का हुनेछ, त्यसबेला संविधानका सबै अन्तरवस्तुमा सहमति हुनेछ। अधिकाधिक सहमतिमा संविधान जारी हुनेछ।