Advertisement Banner
Advertisement Banner

०७ आइतबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

१० लाखे शहीद कति कति

२० सोमबार , माघ २०७६५ बर्ष अगाडि

देशका लागि सहादत हुने व्यक्ति शहीद मानिन्छ । यसपाली पनि शहीद दिवस मनाइयो तर यी शहीदहरुप्रति नतमस्तक हुन नसकेका राजनीतिक दलहरुले झण्डै १४ हजार आफ्ना पार्टीका कार्यकर्ताहरुलाई शहीद घोषणा गराएका छन् । तिनीहरुप्रति नै नतमस्तक हुनपुगे । यहीकारणले गर्दा देशका लागि, प्रजातन्त्रका लागि, जहाँनियाँ राणा शासनविरुद्ध ज्यान दिने असली शहीदहरु दशरथचन्द, धर्मभक्त माथेमा, गंगालाल र शुक्रराज शास्त्रीको मान मर्दन हुनपुगेको छ । अव त पार्टीका शहीदहरुको बोलवाला भएको छ ।
पार्टीका शहीद अर्थात कालगतिले मरुन् कि दुर्घटनामा, भीरबाट लडेर मरुन् कि भीडभाडमा गोली लागेर सबै शहीद । शहीद घोषणा गरिदिएपछि १० लाख पाइने । मर्नेका परिवारले पनि पाउने, पार्टीले पनि पाउने । यही लोभमा जुन पार्टी सरकारमा गयो, उसैले शहीद घोषणा गर्ने प्रचलन चलाएकाले १४ हजारभन्दा बढी शहीद घोषणा भइसके । राज्यले प्रति शहीद १० लाखका दरले भुक्तानी गरेको मात्र होइन, तिनका परिवारजनलाई थप सहयोग पनि गर्ने गरेको छ । पार्टीहरु पसल बने, नेताहरु व्यापारी बने, शहीद किनबेच गरेर मुनाफा कमाउने व्यापारको विषय बन्यो ।
जुन देशमा शहीद यति सस्तो हुन्छ, त्यो देशको उन्नति कसरी हुन्छ ? देशको सिमाना नै अर्काले मिच्दा कोही बोल्दैनन् । एकजना के बोलेको थियो, गौतम गोविन्द विदेशीले सिमानामै मारिदियो । अरु मर्ने डरले बोल्दैनन् र पार्टीहरु दुर्घटना अथवा भवितव्यले मरेकालाई पनि शहीदको बर्को ओढाएर १० लाख अशूल गर्छ । पैसाका लागि शहीदको नाम बदनाम गर्ने तत्व नै शासक बनेपछि देश धरापमा पर्नु र कुशासन हुनु स्वभाविक हो । यहीकारणले गर्दा देश अस्तव्यस्त छ । विदेशी चलखेलको मैदान बनेको छ । होचाकी जोई सबैकी भाउजु भनेझैं नेपालमाथि भुटानजस्ता सानो मुलुकले समेत हेप्यो, ठूला र शक्तिशाली मुलुकको के कुरा गर्नु र ?
शहीद भनेका देशका अमूल्य निधि हुन्छन् । पुजनीय हुन्छन् । लोकतन्त्र आएपछि घोषणा भएका शहीदहरु राज्य ढुकुटीबाट १० लाख अशूल्न घोषणा भएकाले को कुन पार्टीको शहीद हो, सरकारलाई नै थाहा हुन छाडिसकेको छ । पार्टीले समेत १० अशुलेपछि त्यस्ता शहीदको सम्झना गर्ने गरेको छैन । शहीदमय देशको सीमा र सुरक्षा नै शहीद हुनथालेको छ ।