गत चैतमा हुम्लाको मौसमी रुघाखोकी र ज्वरोले ७ जनाको मृत्यु भएको थियो । यसपटकको हिउँको चिसोले हुम्लाको गाउँ रुघाखोकी र जरोले ग्रस्त छ । तीन हप्तामा ७ जनाको मृत्यु भइसकेको छ । न त स्वास्थ्यचौकीमा औषधि छ, न स्वास्थ्यकर्मी छन् । यो सिजनको फ्लू हो भने पनि फ्लूको रोकथामका लागि समयमै स्वास्थ्यकर्मी र औषधि पु¥याउन नसक्नु र मान्छेले अकालमा मर्न बाध्य हुनु भनेको सरकारको बिफलता हो । भनिन्छ, सरकारी गोदाममा ओखती पर्याप्त छ । तर स्वास्थ्यकर्मी र जनतावीचको सम्पर्क हुन नसक्नु र स्वास्थ्यकर्मी अपर्याप्तता र खेलाचीले जोखिम बढेको छ । चिसोले दमको समस्या अत्यधिक रुपमा बढेको छ । दमको ओखती भने छैन, सरकारसँग हारगुहार गर्दा पनि सरकारले समयमै ओखती पठाएको छैन ।
सरकार चीनबाट फर्केका एक विद्यार्थीमा कोरोना भाइरस पाइएकोले राजधानीमा कोरोना भाइरसको महामारी नफैलियोस् भनेर जुटेको छ । सरकारको नजरमा हुम्ला नपर्नु दुर्भाग्य हो । हुम्लाजस्ता बिकट जिल्लाहरुमा अत्यधिक हिउँवर्षा भएका कारण चिसो बढेको छ र चिसोका कारण रुघाखोकी, जवरो र दमका बिरामीहरु बिचल्लीमा परेका छन् । कतिपयले ज्यान गुमाउनु परेको छ । यो स्थिति आउनेछ भन्ने थाहा पाएर पनि सरकारले सचेतना अपनाएन, समयमै स्वास्थ्यकर्मी र औषधि पठाउने काम गरेन ।
एक त पहाडी जिल्लामा अत्यधिक धुम्रपान गर्ने चलन छ । धुम्रपानले लिन्छ ज्यान भन्ने प्रचार गर्न सकिएको छैन । त्यसमाथि युवादेखि प्रौढहरु भारतमा रोजगारीमा जान्छन् र अनेक रोग लिएर फर्कन्छन् । पहाडी क्षेत्रमा रुढीवादी र अन्धविश्वास पनि व्यापक रुपमा रहेको छ । यी सबै कारणले गर्दा पहाड झरी पर्दा, पहिरोजाँदा, हिउँ पर्दा, अन्य कारणले बेला बेलामा महामारीको चपेटामा पर्छन् र बिकट भएकै कारण यहाँका बासिन्दाले अकालमा मर्न बाध्य हुन्छन् । यसकारण पनि सरकारको बढी ध्यान समयमै औषधिमूलको व्यवस्था गर्नमा जानुपर्छ । कतिपय आमाहरु सुत्केरी हुन नसकेर पनि मर्ने गरेका छन् । एकाध महिलाको उद्धारमा बढी प्रचार गरेर केही हुन्न, उद्धारको व्यवस्था सर्वसुलभ हुनुपर्छ । अहिलेको आवश्यकता भनेको चिसोको कारण फैलिएको महामारी हो, यो महामारीसँग जुध्नका लागि सरकारले तत्काल औषधि र स्वास्थ्यकर्मीको व्यवस्था गरेर हुम्ला जस्ता विकटमा पनि सिंहदरवार छ भन्न सक्नुपर्छ ।