अमेरिकी सरकारले नेपालमा आइएम (इण्डियन मुजाहिद्दिन) को अड्डा बन्न थालेको रिपोर्ट दिएपछि ठूलै तरङ्ग फैलिएको छ । अमेरिकाजस्तो मुलुकले केही बोल्दा रणनीतिक रुपमा बोल्यो होला, तर अमेरिकाले हावामा गोली हानेको मान्न सकिन्न । अमेरिकाजस्तो प्रजातान्त्रिक मुलुकले नेपालको लोकतन्त्रमाथि आतंकको छायाँ पर्न थालेको भनेर सावधान गराएको छ । यसका लागि अमेरिकालाई धन्यवाद दिनैपर्छ ।
मूलकुरो नेपालको सामथ्र्यको र सम्बन्धको हो । नेपालमा कुनै पनि प्रकारका आतंकपूर्ण गतिविधि, संगठनको छायाँ पर्न नदिन नेपालका सुरक्षा निकायहरु चनाखो हुनैपर्छ । यो नितान्त हाम्रो आन्तरिक मामिला हो र आन्तरिक रुपमा नेपाललाई कसरी आतंकपूर्ण गतिविधिबाट मुक्त राख्ने भन्ने सोच हुनैपर्छ । नेपालका सुरक्षा निकाय संसारमै काविल छन् र संसारका मै हुँ भन्ने मुलुकले पक्राउ गर्न नसकेका अपराधीहरुलाई पक्राउ गर्न सफलता हासिल गरेका छन् । यसकारण नेपालमा आइएमका गतिविधि बढेका हुन् भने सुरक्षा निकायका सुचनामा जरुर हुनुपर्छ र सुरक्षा निकायले त्यसमा नियमन र नियन्त्रण गर्ने योजना गरेकै होलान् । यो विश्वस्तता नै नेपाली अपेक्षा र अमेरिकी शंकालाई जवाफ हुनसक्छ ।
नेपाल रणनीतिक भूमि हो । नेपालमा विश्वको नजर छ र यहाँ फैलिएको भ्रष्टाचार, अनियमितता, अनैतिकताबाट लाभ लिन सकिन्छ भनेर आइएम अथवा अरु कुनै पनि आतंककारी संगठनहरुले आफ्ना क्रियाकलाप बढाउन खोजेको हुनसक्छ । हावा नचली धुवाँ उड्दैन, अमेरिकी प्रतिवेदन हावा चलेको र धुवाँ उडेको संकेत हो । धन्यवाद अमेरिका भन्नैपर्छ र नेपालका सुरक्षा निकाले चीलका आँखाले कुनै पनि प्रकारको र कसेको पनि आतंककारी गतिविधिलाई रोक्नैपर्छ, निरस्त्र पार्नैपर्छ र नेपाली भूमिमा आतंकलाई ठाउँ छैन भन्ने पाठ पढाउनै पर्छ ।
यतिमात्र होइन, नेपाली भूमिमा आतंककारी गतिविधिको योजना बन्न थालेको हो भने त्यसलाई रोक्नका लागि सुरक्षा निकायले गर्ने कुनै पनि कार्यमा आमनेपालीको नैतिक समर्थन र सहयोग रहनेछ । सुरक्षा निकायभित्रै पसेर त्यस्ता गतिविधिको आधार बनाउन खोजेको हो भने पनि त्यसको जरोकिलो उखेल्नैपर्छ । नेपाल त्यसै पनि भर्खर आतंकको जोखिम फालेर शान्तितिर लागेको छ । शान्ति र समुन्नति नेपालको एकमात्र ध्येय हुनथालेको छ । यसमा फेरि षडयन्त्र हुन नपाओस्, संचेतना जरुरी छ ।