प्राणीमात्रमा आकार र शक्ति दुबै दृष्टिले सबैभन्दा ठूलो प्राणी डाइनोसर हो । डाइनासोर किन लोप भयो ? किन सकियो ? यसको मूल कारणबारे राजनीति गर्नेहरुले अध्ययन गर्न जरुरी छ । किनभने, राजनीतिमा डाइनोसर प्रवृत्ति हावी छ । डाइनोसरको नियति अध्ययन गर्ने हो भने राजनीतिमा सहनशीलता र समानता विकास हुनेथियो ।
डाइनोसर एकापसमा जुधेर सकिए । एकले अर्काको अस्तित्व स्वीकार नगर्ने र आफै बलवान हुन खोज्ने प्रवृत्तिले डाइनोसर सखाप हुनपुगे । जसरी महाभारतमा कुरुबंश सखाप भए । बिनासका लागि एकदोस्राको अस्तित्व अस्वीकार गर्नु सबैभन्दा ठुलो खतरा हुनेरहेछ । यही शिक्षा नेपाली राजनीतिले लिन जरुरी छ । यदि राजनीतिमा यो शिक्षा अनुकरण हुन सकेन भने डाइनासोरकै नियति नहोला, तर राजनीतिमा स्थिरता, शान्ति र स्वस्थ प्रतिस्पर्धा भन्ने विषय नै रहनेछैन । जहिले पनि झगडा, जहिले पनि एकदोस्रालाई सिध्याउने प्रवृत्ति हावी भइरहने छ ।
नेपाली राजनीतिमा मनमुटाव बाक्लैछ । एकदोस्राको अस्तित्व अस्वीकार गर्ने निषेध र विभेद झन बाक्लो छ । अस्वस्थ प्रतिस्पर्धा र ध्रुविकरण र फुट र झूटको बेहोरा पनि व्यापक छ । विश्वासको कमी छ, भर र भरोसा कसैलाई गर्न नसकिने अवस्था छ । एउटाले अर्काको टाउको काटेर ल्याए ५० लाख दिन्छु भन्छ, प्रकारान्तरले त्यही शक्तिसँग हातेमालो गर्छन् र त्यही शक्तिलाई अर्कोसँग मिले धुलो चटाउँछन् । हुन त राजनीतिमा स्थायी शत्रु र स्थायी मित्रु कोही हुन्न भनिन्छ । त्यति भए पनि नीति, इमान र जवाफदेहीता भन्ने कुरा त हुनैपर्छ । यस्तो अस्वस्थ प्रतिस्पर्धा र एकदोस्रोलाई सिध्याउने खेल अन्ततः आत्मघाती हुन्छ, जुन भइरहेछ ।
चिन्ता देश र देशवासीको हो । यो चिन्ताको वरिपरि राजनीति हुनुपर्छ । राजनीतिमा देश र देशवासीप्रति इमान र निष्ठा हुनुपर्छ । सत्ता र शक्तिका लागिमात्र मरिहत्ते गरेको देखेपछि त्यो राजनीति भनेको डाइनोसर राजनीति नै हो । डाइनोसर राजनीतिको परिणाम शनै शनै आफू पनि सिद्धिनु र अरुलाई पनि सिध्याउनु हो । डाइनोसर राजनीतिले देशलाई खोक्रो र बोक्रो पार्दै प्रभावशालीहरुले आफूलाई मोटो र डरलाग्दो बनाउँदै लगेका छन् । एकदोस्राप्रतिको असहिष्णुता ज्यादै बढेर गएको छ । अधिनायकत्व र निरंकूशताको नयाँ श्रृंखला सुरु भएको छ । यो सबै परिदृश्यले डाइनोसरजस्तै नेपालीत्व सकिने खतरा बढेर गएको छ ।