नेपाल भारतपरस्त भयो भन्ने आरोप लागिरहेको थियो, चीनका विदेशमन्त्री, चिनियाँ पार्टीका विदेश विभाग प्रमुख आएर फर्केपछि नेपालमा सीपथको व्यापक चर्चा चलिरहेको छ । यतिसम्म कि नेपाली पत्रकार, बुद्धिजीवी, नेतालाई भेट्ने कुनै पनि भारतीय प्रबुद्ध बर्ग नेपाल चीनको कति नजिक पुग्यो भनेर सोध्न थालेका छन् ।
अर्थात चीनका राष्ट्रपति नेपाल आउने निश्चित भएपछि नेपाल चीनमय बनेको छ, सीमय बनेको छ । नेपाल भारत र चीनका बीचमा छ र नेपालले दुबै मुलुकसँग समदूरीको सम्बन्ध बिकास गर्नुपर्छ । यही नै नेपालको परम्परागत बिदेशनीति रहदै आएको छ र नेपाल बाँच्ने र प्रगतिमा जानसक्ने मार्ग पनि यही नै हो । यति सहज मार्ग तर समदूरीको सम्बन्ध स्थापित गर्दै व्यवहारमा उतार्न ज्यादै गाह्रो विषय पनि हो । यति गाह्रो विषयमा खेलाँची भएकै कारणले २३ वर्षपछि चीनका राष्ट्रपति नेपाल भ्रमणमा आउने भएपछि नेपाल चीनको कति नजिक पुग्यो भनेर सोधनी हुनथाल्नु भनेको नेपालको नीतिप्रतिको आशंका हो । नेपाली पक्षले नेपाल समदूरीमा छ भनेर विश्वस्त पार्न नसक्नुको कारण हो ।
नेपाल स्वतन्त्र रहेन, सरकारको परराष्ट्रनीतिमा बिचलन आयो र भारत परस्त व्यवहार र चीन परस्त नौटंकीले काउण्टर हस्तक्षेपका ढोकाहरु खोलेका छन् । नेपाल न भारत, न चीन, न पश्चिमा कसैको नीतिका पिछलग्गु भएर बाँच्न सक्दैन । कसैको पनि पछि लाग्नु भनेको जोखिम बढाउनु हो, जोखिममा पर्नु हो, नेपालले बुझेको छ तर जो सत्ताधारी नेकपा छ, उसले अलि बढी नै चीनपरस्तता देखाउँदैछ । नेकपाका नेताहरुले सीपथको नक्कल गर्दैन समेत भनेका छन् । राजनीतिक र सैद्धान्तिकमात्र होइन, नेकपाका नेता कार्यकर्ताहरुलाई स्कूलिङसमेत चीनमा गर्ने सहमतिले चीन इतरका नेपालका मित्रहरु सशंकित हुनु स्वभाविक हो । पहिले नेपालको सत्ता परिवर्तनका लागि ५० करोड माँग्नेहरु यतिबेला सत्तामा छन् र तिनका बिधि व्यवहार प्रष्ट देखिदैनन् ।
सत्तामा जो सुकै पार्टी जावस्, उसले बिधिले शासन गर्ने हो । बिधिले होइन, निरंकूशता र हैकमले शासन गर्न थालेकाले र ५० वर्ष कम्युनिष्टको शासन कायम हुनेछ भनेर अहंकार प्रदर्शन भइरहेको बेलामा चीनतिर लपक्कै टाँसिएका दृश्य र व्यवहारले नेपालको परराष्ट्रनीतिमा बिचलन आउन थालेको संकेत गरेको छ । कदापि यस्तो हुनुहुन्न । नेपालको परराष्ट्रनीतिमा राष्ट्रिय सहमति अत्यन्त जरुरी हुनपुगेको छ ।