स्वास्थ्यमन्त्री उपेन्द्र यादव, उनी उपप्रधानमन्त्रीसमेत हुन् । स्वास्थ्यमन्त्रीले वर्षदिनमा २५ देशको भ्रमण गरेछन् । विदेश जानुपर्छ, नेपालको प्रतिनिधित्व गर्नुपर्छ र नेपालको अडान, विचार र सहभागिता देखिनुपर्छ । कतिपय कार्यक्रमहरु अफिसर स्तरका हुन्छन्, कतिपय सचिव र कतिपय मन्त्रीस्तरका । स्वास्थ्यमन्त्री सहभागी भएका कार्यक्रमहरु मन्त्री स्तरका हुन् कि होइनन्, यो विषय गौण बनेको छ र निरन्तर स्वास्थ्यमन्त्री विदेश भ्रमण गरिरहेकै छन् ।
प्रधानमन्त्री केपी ओली हुन्, जसले संस्कृत विश्वविद्यालयका उपकूलपतिलाई एयरपोर्टको ढोकाबाटै घिच्याएर ल्याउन लगाए र विदेश भ्रमणमा रोक लगाए । यिनै प्रधानमन्त्री हुन्, जसले भ्रष्टाचारी देख्यो कि टपाटप टिपेर फाल्ने उद्घोष गरेका थिए । यिनै प्रधानमन्त्री हुन्, जसले उपचारका नाममा आफै बढी विदेश भ्रमण गरे र आफ्ना वरिपरिकालाई विदेश सयर गराए । यतिामत्र होइन, पछिल्लो पटक सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री फर्कने क्रममा थिए, चाकरी गर्ने शैलीमा पार्टीका उपाध्यक्ष र सचिव विष्णु पौडेल र वामदेव गौतम सिंगापुर नै लिन पुगे । अनावश्यक खर्च हुनु भनेकै भ्रष्टाचार हो र भ्रष्टाचारको दलदल नै बनेको छ यो सरकार ।
यसकारण त प्रधानमन्त्रीले स्वास्थ्यमन्त्रीलाई प्रश्नसम्म पनि गर्न सकेको देखिदैन । देशका ५० जिल्ला डेंगुको महामारीमा छ । टेकु अस्पतालमा सडकमा उपचार भइरहेका दृश्यहरु धमाधम सार्वजनिक भइरहेका छन् । स्वयम् डाक्टरसमेत डेंगुको प्रकोपमा परेका छन् । संसदमा यसबारेमा प्रश्न उठ्यो, उपप्रधानमन्त्री स्तरका स्वास्थ्यमन्त्री उपेन्द्र यादवले जवाफ दिए– बजेट छुट्याएको छ । नियन्त्रण बाहिर स्थिति गइसकेको छैन । झण्डै दर्जन व्यक्ति डेंगुको महामारीले मरिसकेको र डेंगुले आतंक र्फलाइरहेको अवस्था नियन्त्रणका लागि स्वास्थ्यमन्त्री आफै खटिएर स्थितिको आँकलन, औषधिको प्रवन्ध, उपचारको व्यवस्था मिलाउनु पर्ने हो । स्वास्थ्यमन्त्री त अझै विदेश भ्रमणकै क्रममा पो देखिएका छन् । राजपाले संविधानलाई कालो भन्ने र अर्का मधेशवादी दलका स्वास्थ्यमन्त्री बेवास्ता गरेर बिदेश सयरमै रमाउने हो भने ओली सरकारको यो लोकवादी भएको लक्ष्यण होइन । मतदातामा ओली सरकार लोकबिरोधी र भ्रष्टाचारीको रुपमा देखिन थालेको छ । यो नेकपाको साख सकिने क्रम हो ।