Advertisement Banner
Advertisement Banner

०७ आइतबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

देशलाई मायाँ गर्ने बेला

२३ सोमबार , भाद्र २०७६६ बर्ष अगाडि

देशलाई सधैं मायाँ गर्नुपर्छ, देश छ र हाम्रो इज्जत छ, पहिचान छ, गौरव छ । माटोको मायाँ के हुन्छ, माटो किन चाहिन्छ, पेलेस्टाइनबाट हामीले सिक्नुपर्छ । टाढा किन जाने काश्मिरीहरु ७० वर्षदेखि स्वतन्त्रताको माँग गर्दै आएका छन्, लाखौं नागरिकले ज्यान दिइसके, रगत चढाइसके, तिनले देश पाउनु कता हो कता, भारतले काश्मिरलाई भारतको अङ्ग बनाइदिएपछि राष्ट्रसंघसम्म यो मुद्दाले प्रवेश पाएको छ ।
यतिमात्र होइन, पाकिस्तानले युद्धको धम्की दिएको छ । काश्मिरीलाई आफ्नो भविष्यको निर्धारण आफै गर्न नदिने हो भने भारत र पाकिस्तान दुवै आणिविक शक्ति नजिक आएका छन् भनेर दिएको पाकिस्तानी प्रधानमन्त्रीको अन्तर्वार्ताले तेश्रो विश्वयुद्ध दक्षिण एसियाबाटै हुनसक्ने खतराका बादलहरु देखिन थालेका छन् । पहिलो र दोस्रो विश्वयुद्धका घाउहरु अझै पुरिएका छैनन्, तेश्रो विश्वयुद्ध भयो भने मानवताको कुन बेहाल होला, सम्झेर पनि कहालीलाग्ने अवस्था देखिन थाल्यो ।
नेपाल सार्कको अध्यक्ष छ यतिबेला । ४ वर्षदेखि सार्क सम्मेलन हुनसकेको छैन । अव सार्कको बैठक पाकिस्तानमा हुनुपर्ने हो । भारत र पाकिस्तानवीच मनमुटाव भएको र पछिल्लो समय भारतले काश्मिरलाई अभिन्न अङ्ग बनाएपछि बढेको तिक्तताले सार्क सम्मेलन हुनसक्ने वातावरण झन झन धमिलिएको छ । राष्ट्रसंघमा सहभागी हुने क्रममा सार्क राष्ट्रहरुका विदेश मन्त्रीहरु अमेरिका पुगेको बेलामा मन्त्रिस्तरीय बैठक बसेर सुलह र सहजता कायम हुनसक्ने थियो तर पाकिस्तानका प्रधानमन्त्री इमरान खानले एकथोपा रगत भएसम्म पाकिस्तान काश्मिरको पक्षमा छ भनेर दिएको अभिव्यक्तिपछि भारत र पाकिस्तानवीच तनाव बढेको छ, दुबै मुलुकले आफ्ना सेनालाई सतर्क पारेका छन् । कुन बेला बम पड्कन थाल्छ, कुनबेला युद्ध छेडिन सक्छ, भन्न सकिने अवस्था छैन । नेपालले पहल गर्न सक्छ तर नेपालका परराष्ट्र मन्त्रीसँग त्यो उचाइ र क्षमता नभएकाले नेपालले निभाउनै पर्ने भूमिका निभाउन सक्ने देखिदैन ।
नेपाल आन्तरिक र बाह्य संकटमा छ । आन्तरिक रुपमा संघीय पद्धति असफल हुँदै गएको छ । जनताको आक्रोश सडकमा पोखिन थालेका छन् । बाह्य रुपमा नेपाल शक्ति राष्ट्रहरुको व्यापक उपस्थिति र प्रभावमा पर्न थालेको छ । यस्तो गम्भीर अवस्थामा नेपालको अलिकति पनि कमजोरीले नेपालको अस्तित्वमा नै संकट पर्नसक्छ । त्यसैले यो समय प्रत्येक नागरिकले देशलाई झन बढी मायाँ गर्ने बेला बनेको छ ।