Advertisement Banner
Advertisement Banner

२५ शनिबार, माघ २०८२9th January 2026, 2:05:00 am

राज्यविहीनताको अवस्थामा छ

२८ सोमबार , बैशाख २०७२११ बर्ष अगाडि

नेपाललाई राज्यविहीनताको अवस्थामा जान दिन्न भन्ने अभिव्यक्ति प्रधानमन्त्री सुशील कोइरालाले दिएका छन्। भूकम्प गएको १४ दिनपछि प्रम कोइरालाको यस्तो अभिव्यक्ति आएको हो। कांग्रेसी कार्यकर्ताले भूकम्पपीडितसम्म न राहत पुग्यो, न उद्धार नै तदारुकताका साथ भयो, भोलिका दिनमा गर्नुपर्ने पुनर्स्थापना र पुनर्निर्माणको चरणमा पनि राज्यको यस्तै निरीह चाल रहने हो भने जनताले राज्य खोई भनेर सोध्ने अवस्था दोहोरिन्छ भन्ने आक्रोस व्यक्त गर्दा प्रम सुशील कोइरालाले कुनैपनि हालतमा राज्यविहीनताको अवस्था आउन दिन्न भनेका हुन्। हो, नेपालमाथि प्राकृतिक विपदा आइपरेको छ। महाभूकम्पले नेपाली जीवन महाप्रलयकारी बनाइदिएको छ। जतिसुकै हल्लाएर भूकम्पले धनजनको क्षति गरे पनि राज्य छ भने, जनताको मन हार्न सक्दैन। जनताको जीवन भत्किन सक्दैन, मर्न सक्दैन। जनताको घरबास ढलेको हो, जनताको साहस ढल्नुहुन्न। जनताको मनोबल बलियो बनाउनैपर्छ। यसका लागि राज्य र जनतावीचको विश्वासको सम्बन्ध दह्रो हुनुपर्छ। प्रधानमन्त्री सुशील कोइरालाको अभिव्यक्ति यसअर्थमा साह्रै उपयोगी र सकारात्मक मान्नुपर्छ।
तर, महाभूकम्प गएपछि सरकार आफै असरल्ल बनेको देखियो। सरकारले दिनुपर्ने राहत र गर्नुपर्ने उद्धारमा पक्षपात देखियो। बलिया दलका सुण्डमुसुण्डहरुले आहतमा परेका सामान्य जनताले पाउनैपर्ने दाना र पालमा पनि बिभेद गरे। अहिलेसम्म पनि अनकण्टार भूकम्पपीडितहरु कहिले हेलिकोप्टर आउला र राहत ल्याउला भनेर प्रतिक्षा गरेको अवस्थामा छन्। यस्तो राज्य भनेको राज्यविहीनता नै हो। स्वयं ठूला तीन दलका तीन नेता हेलिकोप्टरमा नुवाकोट, गोरखा, सिन्धुपाल्चोक लगायतका स्थानमा घुमेर भूकम्पले मच्चाएको बितण्डा हेरेर आएका हुन्। उनीहरु विकट गाउँहरुमा जान सकेनन्। राजधानी वरपरकै भूकम्पपीडितहरु अहिलेसम्म राहतको लागि दौडादौड गरिरहेको अवस्था छ भने ती गाउँहरुको अवस्था के हेाला, जहाँ न हेलिकोप्टर पुगेका छन्, न राज्यको उपस्थिति छ। त्यसकारण भन्न सकिन्छ, सुशील सरकारले महाभूकम्प अघि र पछि पनि राज्य छ, राज्यविहीनता छैन भन्ने अनुभव जनतालाई गराउन सकेको छैन।
हामी सुशील कोइराला सरकारले राज्यविहीनताको अवस्था छैन भन्ने प्रमाणित गर्न पुननिर्माण र पुनर्स्थापनाको ठोस कार्यक्रम ल्याओस् र त्यसमा पारदर्शिता देखाओस् भन्न चाहन्छौं। मुलुकले राजनीतिक संंगठित साथ खोजिरहेको यो बेला अनियमितता, भ्रष्टाचार, पक्षपात र विभेद गर्नु भनेको सबैभन्दा ठूलो राजनीतिक पापकर्म हो। यस्तो पापकर्म जे भयो, भयो, आगामी दिनमा नहोस् र राजनीतिले स्वच्छतापूर्वक जिम्मेवारीको निर्वाह गरोस्। यसैमा लोकतन्त्र र लोकतान्त्रिक नेपालको भविष्य निर्भर छ।