
यो पछिल्लो दृष्टान्त हो । वर्षाको मौसम, पानीले हिलाम्मे त्रिभुवन विश्वविद्यालय जा“दा हिलोमै रातो कार्पेटमा सवारी चलेको दृश्य हो यो । अन्धाका लागि समेत अपाच्य यसरी लोकतन्त्रका प्रधानमन्त्री हिड्नु भनेको कत्ति पनि बुद्धिमानी हुनसक्दैन । तर देखिएको दृश्य यही हो । यस्ता दृश्यले प्रधानमन्त्रीको बुद्धि, विवेकमात्र होइन, नेकपाकै स्तर मापन हुनपुगेको छ ।
बरु प्रधानमन्त्रीले कूलपति कुनै विद्वानलाई बनाएर वार्षिक उत्सवमा पनि उनैलाई सरिक गराएको भए हुनेथियो । त्यसै पनि राजनीतिकरणले त्रिवि गनाउनुसम्म गनाएको छ । देशको भविष्य उत्पादन गर्नुपर्ने त्रिवि राजनीतिक कार्यकर्ता उत्पादन गर्ने, भर्ति गर्ने र जागीर खुवाउने थलो बनिसकेको छ । भ्रष्टाचारले त त्रिविको साख समाप्त भइसक्यो भने पनि हुन्छ ।
प्रधानमन्त्रीले हस्तक्षेप गरेर प्राज्ञिकलाई जिम्मेवारी दिने, राजनीतिक हस्तक्षेपबाट मुक्त गर्ने र विद्यार्थी तथा प्राध्यापकहरुलाई सही मार्ग देखाउन सकेको भए त्रिविले आजको राजनीतिकरणबाट मुक्ती पाउने थियो । प्रधानमन्त्री कूलपति भएकै कारण त्रिविमा राजनीतिकरण प्रवेश गरेको हो र सबैले सकेसम्म दोहन गरिरहनुको कारण पनि हो । यसरी हिलोमा रातो कार्पेट हालेर जुन चाकरी देखाइयो, त्रिविमा चाकरहरु रहेछन् भन्ने अनुमान गर्न कठिन छैन । यो तमासाले त्रिविको हैसियत झन झन ह्रासोन्मुखमात्र हुने कार्य हो ।