लोकतन्त्र भनेकै प्रेस स्वतन्त्रता हो । वाक र प्रेस स्वतन्त्रता छैन भनेर पञ्चायतमाथि आरोप ब्लाग्यो, बहुदल कालमा प्रेस स्वतन्त्रता त रह्यो, जनताप्रतिको जवाफदेहीता रहेन र कालरात्रि भनेर डामियो । लोकतन्त्र जनताको आन्दोलनबाट आयो भनियो तर जनमतबाट बनेको सरकारले प्रेस स्वतन्त्रतामाथि अंकूश लगाउन खोजेको छ । यो चाहिं अति हो ।
प्रेस स्वतन्त्रतामाथि अंकूश लगाउनु पर्ने कारण सरकार जनताप्रति जवाफदेही हुन नसकेको र संविधानलाई आफूखुशी प्रयोग गरेर देशलाई भ्रष्टाचारको दलदल बनाएकाले हो । आफू विरुद्ध कुनै टिकाटिप्पणी नहोस्, जनताले सरकारमा बस्नेहरुले गरेको भ्रष्टाचार पत्ता नपाउन् भनेर जनताका कुरा सरकारसम्म र सरकारका कुरा जनतासम्म पु¥याउने माध्यम प्रेसमाथि अंकूश लब्गाउन लागेको जो कसैले बुझ्न सक्छ । कम्युनिष्ट सरकारले प्रेसमाथि कडा रुख अपनाउन थालेपछि नेपाली कांग्रेसले अन्ततः मुख खोल्यो– प्रेस स्वतन्त्रताविना लोकतन्त्र वलियो हुन सक्दैन । लोकतन्त्रमा प्रेस स्वतन्त्रता एउटा महत्वपूर्ण कडी हो । कांग्रेस प्रेसमाथि हुनै कुनै पनि किसिमको विरोध, निषेध, बन्देज वा आक्रमणको डटेर विरोध गर्छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा यसरी कडा अभिव्यक्ति दिएका हुन् । तर, नेपाली कांग्रेसले अन्य राष्ट्रिय मुद्दाहरुमा मुख बन्द गर्दा प्रतिपक्षी सत्तापक्षजस्तो देखिएको अवस्था छ ।
निश्चय नै प्रेस उच्छृङ्खल हुनुहुन्न । प्रेस जिम्मेवार हुनुपर्छ । जवाफदेहीता प्रेसको पनि छ । सरकारलाई आलोचनाका माध्यमबाट सही मार्ग देखाउने प्रेसलाई सरकारले मैत्रीभाव राख्नैपर्छ । सरकार निरंकूश मार्गतिर लागेको हो भने प्रेसमाथि अहिलेजस्तै अमैत्री हुन्छ, जुन लोकतन्त्रका लागि खतरा हो । आलोचना गरेकै कारण प्रेसमाथि सरकारी मुङ्ग्रो बज्रनु भनेको निरंकूशता हो । निरंकूशताका विरुद्ध नेपाली प्रेस सधैं सचेत छ, जुधारु छ । नेपाली प्रेसलाई दुई तिहाइको दम्भले कुल्चन सकिन्छ भनेर कम्युनिष्ट सरकारले सोचेको हो भने त्यो दिवा सपना हो । प्रेस सवल छ, आत्मरक्षा गर्नसक्छ । सरकारलाई चेतना रहोस्, प्रेसकै कारण सबै परिवर्तनहरुमा साथ पाएकाले अहिले आएर प्रेसलाई दुश्मन व्यवहार गर्छ भने यो आपत्तिपूर्ण छ । विनासकाले विपरित बुद्धि भन्ने उखान चरितार्थ हुनलाग्यो भन्दा हुन्छ ।