Advertisement Banner
Advertisement Banner

०७ आइतबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

प्रगतिशील लेखक संघ

२५ सोमबार , चैत्र २०७५६ बर्ष अगाडि

कति प्रगतिशील ? -
कानुन व्यवसायी पार्टी पार्टीमा बिभाजन भएको देशमा लेखकहरु बिभाजित भए भनेर के भन्नु ? बुद्धिजीवी पार्टी पार्टीका कित्तामा छन्, पत्रकार पत्रिका भन्दा पार्टी र विदेशी दूतावास निकट छन्, अनि एकले अर्कोलाई चोर औंला ठड्याएर त्यो त्यसको दलाल भनेर लाहाछाप ठोक्ने चलन छ यहाँ । कम्तिमा पनि बुद्धिजीवी, चेतनशील बर्ग र लेखकहरुले समाज, देश बोलिदिए हुन्थ्यो, पार्टीको मुख भएर नबोलिदिए हुन्थ्यो । जनताको मुख भएर बोलिदिए, देशको आवाज अगाडि आउने थियो र शासन लोकतान्त्रिक हुनेथियो ।
समाजको आवाज बोलिन्न भने के लेख्ने ? के लेखक ? कुनै एउटा पार्टीको मुख भएर त्यही पार्टीले पढाएको, सिकाएको र दिएको पाठ घोक्ने लेखक हुनसक्छ कि सक्दैन ? जुनसुकै लेखक हुन्, उसको पहिलो काम देश बोल्नु हो, जनता बोल्नु हो र समाजको आवाज बोल्नु हो । यदि लेखकले समाज बोल्दैन, जनताको आवाज बोल्दैन र सत्ताको चाकरीमा लेखकीय धर्म निर्वाह गरेको फुइँकी लाउँछ भने ऊ लेखक नै होइन । लेखक हुनका लागि सत्ताको रामायण भट्याउनुभन्दा जनताको चित्कार, जनताको अपेक्षा, जनताको कुरा लेख्नु बढी सार्थक हुनुपर्ने हो, तर नेपालमा उही लेखक हो, जसले सत्तामा रहेको पार्टीको परिक्रमा गर्छ, स्वस्तीशान्ति भजन गाउँछ र आफूलाई अग्रगमनकारी भनेर स्वघोषणा गर्छ । यतिबेला नेपालमा लेखकहरु भनेका यिनै हुन् । जसले ४ वटा निवन्ध लेखेको थियो, ऊ अर्को कार्यकालका लागि समेत कूलपतिको पुरस्कार पाउँछ । कारण ऊ सत्ताधारी पार्टीको अध्यक्षको निकट व्यक्ति हो । उसको काम सत्ताको तावेदारी गर्नु हो । जबसम्म तावेदारहरु प्राज्ञिकका दावेदार भइरहन्छन्, नेपालको साहित्य फाँट, लेखकहरु कसरी समाजका प्रतिनिधि पात्र हुनसक्छन् ? लेखकले माटोको कुरा लेखिदिए हुन्थ्यो, माटो बग्दै गइरहेछ, माटो अतिक्रमणमा पर्दै गएको छ, माटो राजनीतिले बेचेर सम्भ्रान्त बनिरहेको छ, लेखक त्यो देख्दैन किन ?
यतिबेला प्रगतिशील लेखक संघको भेला भइरहेको छ । प्रगतिशीलको अर्थ कम्युनिष्ट भन्ने लगाइएको छ । कम्युनिष्ट प्रगति कस्तो हुन्छ ? डा.बाबुराम, प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल र केपी ओलीले यो देशलाई चलाए, चलाइरहेका छन्, यस्तो दुर्गतिलाई प्रगतिशील मानेर प्रगतिशील लेखकहरु स्याइहुइयामा लागिरहेका छन् भने त्यो कस्तो प्रगतिशील हो ?
प्रगतिशीलले अप्रगतिलाई खुलस्त पार्नुपर्छ, प्रगतिशीलले एककदम अगाडि बढ्नुपर्छ । जहाँ नपहुँ रवि, उहाँ पहुँचे कवि बन्न नसकिएला तर अप्रगतिलाई अप्रगति र गलतलाई गलत भनेर देशको कुरा, सीमाका कुरा, सीमाभित्रका जनजीवनका कुरा, कुशासनका कुरा, सुधार गर्नुपर्ने कुरा प्रगतिशील लेखकले कति लेखे, कति लेखिरहेका छन्, कति देखियो, त्यो देखिनुपर्छ ।
प्रगतिशील नामको इज्जत प्रगतिशील लेखकहरुले राखेका छन् ?