गतहप्ता जर्मनको खबरले तिरीमिरी झ्याइँ पारेको हुनुपर्छ, नेपालका शासक, शिक्षक, शिक्षा विज्ञहरुका लागि । किनभने जर्मन चान्सलर ए मार्केलसँग न्यायाधीश, डाक्टर, इन्जीनियरहरुले माँग गरेका छन्– उनीहरुको तलव, सुविधा शिक्षकको जति हुनुप¥यो भनेर ।
यसबाट के थाहा लाग्छ भने जर्मनमा शिक्षालाई अति महत्व दिइएको रहेछ, यसकारण जर्मनमा शिक्षा पेशा अति मर्यादित र महत्वको मानिदो रहेछ, शिक्षानीति सबै नीतिभन्दा बढी प्राथमिकतामा रहेछ । शिक्षा बिना देश अन्धकार हुन्छ, यसकारण जर्मन उज्यालो हुनुमा उसको शिक्षा नीति, शिक्षकको नैतिकताका कारण रहेछ । यति बुझ्न कठिन छैन ।
जर्मनमा त्यसरी डाक्टर, इन्जिनियर, न्यायाधीशले शिक्षकको जति तलवमान माँगिरहदा नेपालमा दुई घटना घटेका छन् – एक, एसइइ परीक्षाको प्रश्नप्रश्न सामाजिक सञ्जालमै लिक भयो । छोरीहरु जो परीक्षा दिन घरबाट पर परका स्कूलहरु पुगेका थिए, मासिक श्रावले परीक्षा रोकिएला भनेर ती नानीहरुले पैड बोकेर गएका रहेछन् । शिक्षकले चिट चोर्नसक्ने, चिट लुकाउन सक्छन् भनेर खोसेछन् । यी दुई घटनाले शिक्षक कतिसम्म नराधम हुन्छन्, शिक्षकले सेटिङमा कसरी प्रश्नपत्र नै लिक गर्ने रहेछन् र नेपालको शिक्षानीति साह्रै दयनीय हुनपुगेको हो भन्न सकिन्छ ।
टोपी खुट्टामा लगाउने होइन, न त जुत्ता टाउकामा लगाउने हो । शिक्षकलाई राजनीतिक हतियार बनाएपछि र शिक्षकले राजनीतिक हतियार बनेर स्वार्थपूर्ति गर्न थालेपछि नेपालको शिक्षा जगैदेखि चरमराएको अवस्थामा पुगिसकेको छ । स्कूलदेखि कलेजसम्म, विश्वविद्यालय समेत राजनीतिक कार्यकर्तँ भर्तिकेन्द्रमा परिणत भएकै कारण खेताला शिक्षक, कागजी स्कूलसम्मका घटनाहरु सार्वजनिक हुनपुगेका हुन् । सरकारी तलव खाएर पार्टीका लागि राजनीति गर्ने र व्यक्तिगत लाभका लागि निजी स्कूल, कलेजमा पढाउनेहरु कति छन् कति ? यो सब गलत शिक्षानीति र शिक्षामा राजनीतिकरण गरेको प्रतिफल हो । शिक्षालाई नैतिकता सिकाउने, व्यवसायिक ज्ञान दिने खालको शिक्षानीति बनाउन सकेको भए आज देशमा कामदारको हाहाकार हुने थिएन । बेरोजगार उत्पादन गर्ने शिक्षा नीतिकै कारण वर्षेनी ५ लाख उच्चशिक्षा हासिल गर्छन् तर तिनीहरु कोरियाले रोजगारीमा लाने भयो भनेर रातभरि लायनमा बसेर फाराम भर्न जान्छन् । भारतका कामदार नेपाल आएर मासिक अरवौं कमाएर लान्छन् । हातमा सीप सिकाउन सकेको भए देशमै लाख कमाउन सकिन्थ्यो, २० हजार, ३० हजारका लागि खाडीको आगोजस्तो गर्मीमा ज्यान झोक्न पर्ने थिएन । शिक्षानीति गलत छ, शिक्षामा राजनीतिकरण छ, शिक्षामा भ्रष्टाचार छ, यहीकारण नेपालमा न शिक्षकको मान छ, न शिक्षाको कदर । जर्मनबाट शिक्षानीति सिकौं, शिक्षकलाई राजनीतिबाट मुक्त राखौं र सीपमुलक शिक्षामा जोड दिने काम गरौं, ताकि आत्मनिर्भरतातिर देश जाओस्, समृद्धिको जग सीपमुलक शिक्षा हो ।