नेपालमा वैदेशिक लगानी भित्र्याउनका लागि चैत १४ र १५ गते अर्थात भोलि र पर्सी लगानी सम्मेलनको आयोजना गर्ने भएको छ । लगानी सम्मेलनमा व्यापक रुपमा विदेशी लगानी भित्र्याउनका लागि निम्त्याउने र आयोजनाहरुको छनौट प्रक्रियासमेत समाप्त भइसकेको छ ।
यसरी नेपालले विदेशी लगानी भित्र्याउन तैयारी गरिरहेको पूर्वसन्ध्यामा भारतका विदेश सचिव विजय केशव गोखले नेपालको दुई दिने भ्रमणमा नेपाल आउने भएका छन् । यति नै बेला भारतले विदेश सचिव पठाउनुपर्ने कारण के परेछ ? यो चाहिं खुल्दुलीको विषय पनि हो ।
नेपालले लगानी सम्मेलन उद्घाटन गरिरहेकै बेलामा भारतीय विदेश सचिव नेपालमा उत्रने छन् । यो समयमा भारतीय विदेश सचिवले नेपालका उच्चस्तरीय अधिकारीहरुसँगमा मात्र होइन, सरकार प्रमुख र राजनीतिक नेताहरुसँग समेत भेटवार्ता गर्नेछन् । नेपालको ध्यान लगानी सम्मेलनमा एकत्रित गर्नुपर्ने बेलामा भारतीय विदेश सचिवतिर बढी लगाउनु पर्ने निश्चित छ । भारतीय कूटनीतिक जोल्टलाई नेपालले कसरी ट्याकल गर्छ, यो ओली सरकारको ल्याकतको परीक्षा समेत हुनपुगेको छ । यतिमात्र होइन, अमुक राष्ट्रलाई नेपालमा लगानी गर्न रोक लगाउन समेत भारतीय विदेश सचिवको नेपाल भ्रमण हुनलागेको कूटनीतिक बृत्तमा बाक्लै चर्चा छ ।
नेपाल बसाइको २ दिनमा भारतले नेपालसँगको सम्बन्ध र नेपालमा भारतीय सहयोग कार्यक्रमको समीक्षा समेत गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अधिकारीहरु नै भारत नेपालमा आर्थिक लगानी भइरहेका र हुनसक्ने कतिपय ठूला आयोजनामा समेत वार्ता गर्न यही अवसर जुराएको बारेमा सशंकित भएर कुरा गर्न थालेका छन् । भारतको उपस्थिति र सहयोग हुनुपर्छ, भारतले यही मौकामा सम्बन्ध र लगानी भइरहेका आयोजनाको समीक्षा गर्ने बहानामा विप्लव माओवादीको आतंकलाइृ अघि सारेर भारतले लगानी गरेका ठूला आयोजनाको सुरक्षा भारतले नै गर्न पाउनुपर्ने माँग समेत गर्ने संशय धेरैको छ । के नेपालले त्यस्तो सुविधा भारतलाई दिनसक्छ ? दियो भने ठूलो लगानी गर्ने चीन, अमेरिका लगायतले पनि त्यस्तो माँग गरेमा नेपालले त्यो सुविधा दियो भने नेपालको परराष्ट्र, असंलग्नता कहाँ पुग्ला र नेपाल विदेशीको सैनिक परेड मैदान बन्न कति बेर लाग्ला र ?
विदेश सचिवले यही नेपाल भ्रमणका बेलामा नेपालमा सञ्चालित भारतीय आयोजनाहरु, आपसी हितका थप वार्ता र उच्चस्तरीय भ्रमणका क्रममा नेपाल–भारतवीच भएका सहमतिको प्रगति के छ भन्ने बारेमा समेत कुराकानी गर्नेछन् । नेपालको परराष्ट्र मन्त्रालय लगानी सम्मेलन सफल पार्नतिर लाग्ने कि भारतलाई खुशी पार्न अघि सर्ने ? भारतले गजबको मौकामा चौका हान्न खोजेको देखिन्छ । यो समय नेपालको सतर्कता, सरकारको सक्षमता र प्रशासनको योग्यता प्रदर्शन गर्ने समय हुनपुगेको छ । भारत पाकिस्तानवीचको तनाव पछिको पहिलो भारतीय अधिकारीको भ्रमण हुनेछ ।