०४६ सालमा जुन परिवर्तन भएको थियो, अगुवा नेता तिनै थिए । ०६३ सालको जनआन्दोलन जसको अगुवाईमा सम्पन्न भयो, ती पनि तिनै नेता थिए । ०४६ सालपछिका २७ सरकार अथवा २०६३ सालको परिवर्तनपछिका ११ सरकारमा जो थिए, आज पनि सत्तामा तिनै छन् । राजनीतिक ठूला पार्टी तिनैले चलाएका छन् । आलोपालो, पालैपालो सरकार चलाइरहेका छन् र आआफ्ना पालामा देशघातक निर्णयहरु गरिरहेकै छन् ।
सबैले चुनावका बेलामा देशको चिन्ता गरिरहेकै छन् । मानौं यी देशका ठेकेदार हुन् र यिनले मजाले देश चलाइरहेका छन् । देश चलाउन काविल यिनीहरुमात्र हुन् । यथार्थ के हो भने यी हरेक नेताको पालामा राष्ट्रघात भएको छ । राष्ट्रघात गर्न यी नेताहरु किन्चित पनि धक मान्दैनन् । सर्वसाधारणले केही गर्न सक्दैनन्, नागरिकको काम मतदान गर्नुमात्र हो भन्ने साह्रै सानो सोच छ यिनको । यही गलत सोचका कारण यिनीहरु राष्ट्रघात गरिरहेछन् । यी कस्ता नेता हुन्, जो सिमाना अतिक्रमणमा पटक्कै बोल्दैनन् । सीममा विदेशी सेनाले नागरिक मारिदा पनि बोल्दैनन् । सरकार त नागरिकको संरक्षक बन्नुपर्ने हो, नागरिक सीमामा होस् कि सीमापारी, सात समुद्र पारी रोजगारीका लागि गएका नागरिकाका लागिसमेत यो सरकार बोल्दैन । मानौं सरकार भनेको मुनाफाखोर हो, उसलाई मुनाफाबाहेक केही मतलव छैन ।
जनतामा भ्रम छर्नु नै राजनीतिको मुख्य काम भएको छ । सपना देखाउने, भ्रममा पार्ने र सत्तामा बसेर निरंकूशता चलाइरहने । भ्रष्टाचार बढ्नु, सुशासन नहुनुको मुख्य कारण पनि यही नै हो । जनता पनि अव त राम्रो गर्ला, अव त सुध्रेला भनेर पालैपालो सत्तामा पु¥याउने काम गरिरहेका छन्, यी पार्टी र नेताहरु यस्ता छन् कि समृद्धि र स्वच्छताका लागि कामै गर्दैनन् । पार्टी चलाउन गुण्डा पाल्ने, सत्तामा पुगेपछि अपराधी, तस्कर, माफियाको संरक्षण गर्ने । अनि, कमिशन डकारिरहने । यस्ता शासकहरुबाट देश अग्रगमनकारी छलाङ लगाउन सक्दैन । हो, नेताहरुले आफ्नो सम्पन्नताको छलाङ भने दिनदिनै लगाइरहेका छन् । जो भोकानाङ्गा थिए, सिद्धान्त बगार्थे र सर्वहाराको लागि समाजवाद वा कम्युनिजम ल्याउ“छु भन्थे, तिनले आफ्नो सम्भ्रान्त, सामन्तको सुख भने आर्जन गरेका छन् । राजनीतिलाई बेश्या बनाएर नेताहरुले देश लुटिरहेका छन्, मानौं राजनीति भनेको दलाली हो । दलाली गर्ने सबैभन्दा शक्तिशाली बाटो र आर्जन हुने काम बनेको छ ।
देशवासीको जीवन कस्तो छ, राजनीतिले कहिले पनि हेरेन । सत्ताले त हेर्दै हेरेन । जनजिविकालाई सुधार गर्ने भाषण खुब चलेर गयो तर रोजगरी दिने उद्यम, धन्दा बन्द गराएर कमिशन खाने तिनै नेता बने । रोजगारीका मार्गहरु बन्द भएपछि स्वभावतः वैदेशिक रोजागारीमा जानुपर्ने हुन्छ । हरेक वर्ष ५ लाख श्रम बजारका लागि तैयार हुन्छन्, ५० हजार जो नेताका वरिपरिका छन् तिनले रोजगारी पाउ“छन्, बा“की विदेशीने नै हो । युवा बेचेर चलेको मुलुक कतिदिन चल्छ । युवाविहीन बनेपछि देशमा विदेशी चलखेल बढ्छ, राजनीतिक नेताहरु डलरमा भुल्छन्, सत्ता र शक्तिमा रमाउने गर्छन् अनि त देश कमजोर, असफल बन्दै जान्छ । यतिबेला नेपालको हालत यही दुर्गतिमार्गमा तीब्र गतिले सुइकुच्चा ठोकिरहेको देखिन्छ ।