आजै आउँछ, भोलि आउँछ, चैतमा आउँछ, नयाँ वर्षमा आउँछ, अर्को साल आउँछ भन्दाभन्दै मेलम्ची अझै नआउने भयो । इटालियन ठेकेदार सीएमसी अन्ततः ठेक्का रद्द गरेर भाग्यो । हाम्रा नेता, प्रशासक र राजनीतिक दलहरुले चन्दा माग्दा माग्दा हैरान भएर भागेको बताइयो । यतिमात्र होइन, टाट पल्टेर भाग्यो भनेर प्रचार पनि भयो । खानेपानी मन्त्रीले नियामानुसार ठेक्का तोडिएको हो, अव आफैले बाँकी काम सकेर मेलम्चीको पानी सुन्दरीजल झारेर राजधानीबासीलाई मेलम्चीको पानी पिलाउने बचन पनि दिइन् । तर अहिले यिनै मन्त्री विना मगरको टोन डाउन र चेन्ज भएको छ । उनी भन्छिन्– ठेक्का तोडेर गएको सीएमसी कम्पनीसँग सिंगापुरमा वार्ता गरेर बाँकी काम सक्न उसैलाई जिम्मा दिन सकिन्छ ।
यसअघि भनिएको थियो– ठेकेदार भाग्यो, मेलम्चीको पानी राजधानी ल्याउने जिम्मा नेपाली सेनालाई दिइनेछ । जुन काम पनि सेनालाई दिने कुराको राजनीतिक रुपमै आलोचना बढेपछि सरकार पछि हट्यो र बाँकी काम गरिदिन पुरानै ठेकेदारलाई अनुरोध गर्ने मूडमा सरकार छ ।
यद्यपि सीएमसीले धरौटी राखेको डेढ अर्व रुपैयाँ सरकारले पाउने छ र त्यसमा थप गरेर काम सम्पन्न गर्ने कि भन्ने सोच पनि सरकारले बनाएको छ । सरकार सोच बनाउँछ र सरकारमा बस्नेहरु, कर्मचारीतन्त्र चाहिँ कसरी कमिशन आउँछ भन्नेतिर ¥याल काढेर बसिरहेका छन् । राष्ट्रपति भ्रष्टाचार बढेको सुनिन आयो भन्छिन्, प्रधानमन्त्री भ्रष्टाचार नियन्त्रण गरिन्छ भनेर भाषण गर्छन्, देश भ्रष्टाचारले दलदल बन्दै गएको छ । मेलम्ची आयोजना भ्रष्टाचारको सिकार बनेको छ । कसको कमजोरीले १० वर्ष अघि आइसक्नुपर्ने मेलम्ची आउन सकेन, यसमा छानबिन गराउन समेत सरकार तैयार छैन । कारण एउटै छ, सरकारमा सबै पार्टी पालैपालो बसेका छन् र सबैले सख्यअनुसारको पदीय दुरुपयोग गरेर भ्रष्टाचार गरेका छन्, अनि किन छानबिन र जिम्मेवारमाथि कारवाही गर्ने ? आफै परिन्छ, लहरो तान्दा पहरो गर्जिन्छ । यही कारण भ्रष्टाचार बढेको हो, भ्रष्टाचारमय भइरहेको छ ओली सरकारको दुई तिहाइको सरकारको क्रियाकलाप पनि ।
मेलम्ची आयोजना प्रमुख छन् सूर्यराज कडेल । पुरानै ठेकेदारलाई फर्काउन सके समय र लागतको बचत हुनेथियो । ठेक्का तोडेर चुकिएको छैन । ठेक्का तोडेर चुकेको नहोला, समयमा काम सक्न नसक्नु चुक होइन ?
सत्तारुढ दलका अध्यक्ष प्रचण्डकी बुहारी खानेपानी मन्त्री छिन् । उनको ताकत त देखियो, काम गर्ने ल्याकत चाहिं देखिएन । के गर्ने प्रधानमन्त्री सक्षमलाई मन्त्री बनाएर काम गर्ने मूडमै छैनन् । उनी जसरी पनि आफू ताकतबर हुनका लागि आँखा, कान, मुख बन्द गर्न तैयार छन् ।