Advertisement Banner
Advertisement Banner

०७ आइतबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

संवैधानिक पदाधिकारीलाई किन कानुन लाग्दैन ?

२३ सोमबार , पौष २०७५६ बर्ष अगाडि

सरकार दुई तिहाइको होला, सरकार कति तिहाइको सँग खासै अन्तर राख्दैन, यो राजनीतिक स्थिरताको लागि सवाल हुनसक्छ ।
सवाल देशमा कानुन व्यवस्था कस्तो छ, शासन पद्धति बिधिले चलेको छ कि छैन भन्ने मूल प्रश्न हो । यो प्रश्नका सम्बन्धमा आमजनधारण एउटै छ– संवैधानिक पदाधिकारी, सैनिक, न्यायाधीशहरुलाई सितिमिति जतिसुकै बदमासी गरे पनि कानुनले छुट सक्दैन । जो अगुवा उही बाटो...भनेजस्तो जसले सबैभन्दा बढी बिधिको पालना गर्नुपर्छ, लोकलज्जामा बस्नुपर्छ र आफू उदाहरण भएर देखाउनु पर्छ उसैलाई कानुनले छुँदैन, उही कानुनभन्दा माथि देखिन्छ, उसैलाई कानुनले छुट दिन्छ भने यो त अति भएन र ?
बदमासी असलमा संवैधानिक पदाधिकारीबाटै हुनेगर्छ । अरुले त तिनकै संरक्षण र उक्साहटमा कानुन मिच्ने हुन् । हिजोको सुडान घोटाला होस् कि अहिलेको वाइडबडी जहाज खरिद काण्ड होस्, बदमासीको सुरुआत शासन प्रशासनमा बस्नेहरुले नै गरेका हुन् । उनीहरु बिधिमा बसिदिएको भए कर्मचारीले यति ठूला ठूला घोटाला कसरी गर्न सक्छन् र ?
अनेक तिकडम लगाएर पदासीन हुने, सक्ने काम पनि नगर्ने ? कुनै कामै देखाउन नसक्नेलाई पनि आफन्त ठानेर, पैसा खाएर नियुक्ती गरिदिने अनि काम के ग¥यो भनेर सोधखोज, मूल्याङ्कन पनि नगर्ने ? यस्तो परिपाटी भनेको राष्ट्रलाई अधोगतितिर धकेल्ने प्रवृत्तिमात्र हो । देशलाई समृद्ध, सुशासन र जनताको खुशहाली चाहने हो भने कानुन मिचेर रेसम... फिरिरी गरेर हुन्न । जेलमा भएका व्यक्तिलाई ससम्मान संसदमा ल्याएर सपथ ख्वाउने, जनतामाथि अपराध गर्नेलाई सांसदको सुविधा दिने, सलाम ठोक्न लगाउने, यो सब के हो ? पद बचाउन, दुई तिहाइ टिकाउन बिधि मिचेर, कार्यपालिकाको दबाबमा व्यवस्थापिकाालाई समेत राखेर यसरी रेसम फिरिरी गर्नु भनेको पद्धतिमाथिको बलात्कार नै हो । बिधिमाथि यसरी बलात्कार हुन्छ भने यस्ता बलात्कारीले चलाएको शासन कसरी सुशासन हुनसक्छ ?
दुई तिहाइ भएर के गर्नु ? काम गर्न नसकेपछि सतप्रतिशत भए पनि के लछारपाटो लाग्दैन । इच्छाशक्ति नै नभएपछि कसको के लाग्छ ?
खाली भाषणमा गुड्डी हाँक्ने, ठूला ठूला सपना देखाउने, काम भने पुटेको कोडीजति पनि नगर्ने ? यो चालालाई जनताले धेरै दिन सहिरहलान् र ? जनता मूर्ख छैनन्, अवसर दिएका हुन्, अवसरको उपयोग नगर्ने र जनतालाई सास्ती दिनेलाई जनताले नै गोर्खेलौरी ठोक्छन् । हेक्का रहोस्, लोकतन्त्रमा लोकभन्दा बलवान अरु कोही पनि हुँदैनन् ।
दुई तिहाईका बारेमा जनता नै भन्न थालेका छन्– बोकाको मुखमा कुभिण्डो भयो भनेर । काम गर्न नसकेपछि कर्मचारीले गर्न दिएनन्, प्रतिपक्षीले गर्न दिएनन् भन्ने बहानाबाजी जनता सुन्न तैयार छैनन् । सके गर, नसके कुर्सीबाट जनताले गलहत्याउने दिन आउँदैछ । जनता निर्मम प्रहार गर्छन् ।
नाकाबन्दीका समयमा केपी ओलीले जुन ताकत र तार्किकताका साथ जनतालाई आफ्नो योग्यता देखाएका थिए, त्यो योग्यता चुनाव जितेपछि र सरकारमा गएको १० महिनामा प्रदर्शन गर्न सकेनन् । उनी असफल भइसकेका छन्, पूर्ण असफल नहोउन्, यसका लागि उनी सचेत हुन जरुरी छ ।