हालै सम्पन्न भारतका ५ प्रान्तका चुनावमा सत्तारुढ दलले शर्मनाक हार भोगेको छ । भारतको यो चुनावलाई केही महिनापछि हुने लोकसभाको आमनिर्वाचनको पूर्व तस्वीरका रुपमा पनि लिइएको थियो । जुन परिणाम आयो, त्यसबाट भारतको भाजपा सरकार आत्तिन पुगेको छ । भारतमा एउटा राम्रो संस्कार के छ भने निर्वाचन परिणाम अर्थात जनादेशलाई स्वीकार्छन् । प्रधानमन्त्री नरेन्द्र मोदी र उनको भाजपा पार्टीले जनादेशलाई स्वीकार गरे, हार माने । बिजयी नेपाली कांग्रेसलाई बधाई पनि दिए ।
भारतको यो चुनाव परिणाम नेपालका सत्तारुढ दल नेकपाका लागि शिक्षा हुनसक्छ । जनताप्रतिको जिम्मेवारीबाट पलायन हुँदा, जनतालाई दिएको आश्वासन पूरा नगर्दा, सपना देखाउने र खोक्रा भाषणमात्र गर्दा, टालटुले रफुमाष्टर बन्दा र सल्लाहकारका ताल न सुरका कुरामा आजका जनताले सधैंभरि विश्वास गर्दैनन् भन्ने उदाहरण हो । जनतालाई एक दुईपल्ट झुक्याउन सकिन्छ, सधैं मूर्ख बनाउन सकिन्न भन्ने शिक्षा भारतका सत्तारुढ भाजपाले लिएको हुनुपर्छ भने त्यो उदाहरणबाट नेपालका सत्तारुढ नेकपाले पनि समयमै शिक्षा लियो भने त्यस्तो परिणाम भोग्न नपर्ला । जनताले दण्ड दिने चुनावमा नै हो, चुनावमा गोर्खेलोरी नेकपाले खानु नपर्ला । यसकारण अझै समय छ, समयमै जनताप्रति जवाफदेही हुनु बेश हुनेछ ।
छिमेकी भारतबाट हरेक कुराको नक्कल गर्ने नक्कलेहरु सधैं नेपालको सत्तामा पुगेका छन् । पहिलेका पञ्च, त्यसपछिका बहुदलेहरु र अहिलेका लोकतन्त्रे नेताहरु भारतका नेताका शरणमा पर्ने, तिनका कुरा सुन्ने, तिनले लाए अह्राएको काम गर्ने र भारतका नेताहरुले गरेका नकामजति सबैको नक्कल गर्ने बानी परेको छ नेपालका नेताहरुलाई । नेपाली नेताले एउटै कुरा भारतीय नेताबाट नक्कल गर्न सकेनन्, त्यो हो आन्तरिक राजनीतिमा जतिसुकै मतभिन्नता भए पनि जब देशको हित र स्वार्थको सवाल आउँछ भारतीय पार्टी नेताहरु एक हुनेगर्छन् । यही सिको गरेका विश्वभरि फैलिएका दीनदु:खी भारतीयहरु जहाँ बसे पनि मेरा भारत महान भन्न छाड्दैनन् । यही गुण आफूमा सार्न र त्यसको सिको आमनागरिकमा सार्न नेपाली राजनीतिक नेताहरु असफल भएका छन् । जसका कारण नेपाली राष्ट्रवाद सधैं कमजोर हुनेगरेको छ । यतिमात्र होइन, नेपाली नेताहरु भोट बैंक तैयार गर्न जातजाति, धर्म, सम्प्रदाय, क्षेत्रलाई बिभाजन गरेर, नेपाली एकता र सद्भाव भाँडेर राजनीतिक स्वार्थ शिद्ध गर्नसमेत पलकेका छन् । यथार्थमा नेपाली देशभक्ति कमजोर हुनुमा राजनीति जिम्मेवार छ । राजनीतिका कारण बिखण्डन र बिभाजनका अनेक परिघटना भइरहेका छन् र एक नेपालमा बहुल राष्ट्रवाद देख्ने र मधेस अलग देश भन्नेसम्मका बिद्रोह पनि देखिएका छन् । यस्ता विद्रोहलाई चिर्नसक्ने खुबी कुनै पनि पार्टी अथवा नेपाल सरकारमा बस्ने पार्टीमा देखिन सकेन । पार्टीहरु नेपालका लागि सराप बनेका छन् ।
अहिले नेकपाको दुई तिहाईको सरकार छ । कसैले यो सरकारलाई हल्लाउन पनि सक्दैन चालु पाँच वर्षसम्म । यति शक्तिशाली सरकारले नेपाल निर्माण गर्ने, सुशासन दिने, समृद्धिमा अघि बढ्न सक्नुपर्ने हो । तर उही सपना बाँड्ने, भ्रम छर्ने, सुशासनका कुरा गर्ने र भ्रष्टाचारको अन्त्य गर्ने भाषणमात्र सुनिन्छ । शासन प्रशासनमा जति पनि भ्रष्टाचार, अपराधिक घटना घटिरहेका छन्, त्यहाँ सरकारको गल्ती देखिन्छ । सुध्रने कहिले ?