
यहीकारण भारतले श्रीलंकाका प्रधानमन्त्री बिक्रमासिंगेमार्फत एउटा बन्दरगाह भारतको जिम्मेवारीमा दिने र भारतको इसारामा काम गर्न थालेको देखेपछि राष्ट्रपति सिरिसेनाले भारत भ्रमणमा रहेका प्रधानमन्त्रीलाई बर्खास्त गरेर आफूसँग चुनाव हारेका राजापाक्षलाई प्रधानमन्त्री नियुक्त गरे । तर उनले संसदको विश्वासको मत लिन नसक्दा श्रीलंकाको संसदमा कुटाकुटमात्र भएन, श्रीलंका राजनीतिक अस्थिरतामा फसेको छ ।
राष्ट्रपतिले विक्रमा सिंगेलाई बर्खास्त गर्दा चीनले शुभकामना दिने र विक्रमासिंघेलाई उचालेर भारतले श्रीलंकामा उधुम मच्चाउन थालेपछि श्रीलंकाको शान्तिव्यवस्था बिग्रदै गएको छ । यथार्थमा श्रीलंका भारत र चीनको खेलमैदान बन्नपुगेको छ र श्रीलंकामा अव के हुन्छ, कसरी राजनीति स्थिरता कायम हुन्छ भन्ने भय बढेर गएको छ । एसियामा भारत र चीनवीच शक्ति प्रतिस्पर्धा चलिरहेको छ र दुबै मुलुकवीच दक्षिण एसियामा कसको प्रभाव बढी भन्ने प्रतिस्पर्धाको नतिजा हो श्रीलंका । श्रीलंकाको घटनालाई दक्षिण एसियामा भारत र चीनको प्रभाव र प्रतिस्पर्धाको झिल्काको रुपमा विश्लेषण हुन थालेको छ । झिल्का डढेलो पनि हुनसक्छ, आगो कसैको मित्र हुनसक्दैन, आगोले गर्ने र बनाउने भनेको खरानी नै हो । राजनीतिक विवेक पुगेन, राजनीतिज्ञहरु शक्ति राष्ट्रको अडेस लाग्न पुगे भने देशको कुन बेहालत हुनथाल्छ,श्रीलंकाबाट शिक्षा लिनुपर्छ र नेपाल त विश्वशक्तिको रणनीतिक भूमि नै हो, नेपालमा विश्वशक्तिहरु सलबलाइरहेका छन्, त्यसमाथि भारत र चीनको त लगानी प्रतिस्पर्धा बढेर गएको छ । यसकारण नेपाल कुनै पनि बेला श्रीलंकाको दुर्दशामा फस्न सक्ने भएकाले नेपालले फुकी फुकी निर्णय लिनुपर्छ ।।
नेपाल यसकारण पनि संवेदनशील स्थितिमा छ कि नेपालको वाम राजनीति चीन र भारत दुबैतिरको विश्वासपात्र बनेर अघि बढेको छ भने लोकतान्त्रिक राजनीति भारत र पश्चिमाको भरथेगमा चलेको छ । नेपाली जनता त मत दिने र ५ वर्ष रोएर बस्नुपर्ने अवस्थामा छन् । जनताप्रति जिम्मेवार राजनीति छैन, देशप्रतिको गौरव नेताहरु गर्न चाहदैनन् । एकातिर अन्तरपार्टी झगडा र क्षेत्रीय भूराजनीतिक हावाका कारण नेपाल छटपटिएको छ, स्थिरता आउने राजनीतिक परिस्थितिबाट समेत अस्थिरताको सुनामी झेलिरहेको छ । शान्ति, सुशासन र समृद्धिबाट अझै पनि टाढा छ नेपाल । यसकारण पनि श्रीलंकाको अस्थिरता जसरी भारत र चीनका कारण बढेर गएको छ, नेपालमा त्यो महारोग कुनै पनि बेला सर्न, सल्कन सक्छ । चिन्तक, विवेकशील र थिंक टेंकहरुले सोचुन् ।