
त्यसमाथि निर्मला पन्तपछि पनि अनेक बलात्कार र हत्याका घटना भइनै रहेका छन् । कुनै पनि बलात्कार र हत्यारालाई राज्यले पक्राउ गरेर कानुनको कठघरामा उभ्याउन र दण्ड दिलाउन नसक्नु भनेको सरकारकै असक्षमता हो । कानुनी राजको जतिसुकै डंका पिटे पनि कानुनी राज तवमात्र सम्भव छ, जब कानुन प्रभावकारी देखिन्छ । समाजका अपराधीतत्व खुशीराज रजगज गरिरहने र कानुन तमासा हेर्ने हुनु भनेको कानुनी राज कायम छैन, अराजकतत्वहरु हावी भइरहेका छन् भन्ने नै हो ।
यही सिलसिलामा बडादशैं आयो र गयो, दीपावली पर्व आयो र सकियो । बिजुलीको झिलीमिलीले देशै धपक्क बल्यो तर महिलाको डर, तिनको मनभित्रको भय मेटिन सकेन । बिधिको शासन चाहिरहेका लोकतान्त्रिक अभ्यास पनि उज्यालो हुनसकेन । समाजमा बलात्कार र हिंसा बढिरहने, अनि कसरी समाजले उज्यालोको अनुभव गर्ने । घरका चेलीबेटी कुनबेला कहाँनेर बलात्कार हुने हुन्, तिनको हत्या पो हुने हो कि भन्ने मनमा आतंक लिएर दशैं मनाएका आमनागरिकले तिहार पनि मनाए, तर आमनागरिकको मन भयरहित हुनसकेन । सडकमा न्याय माँग्न निस्केका अधिकारकर्मी र आमनागरिकको माँग बलात्कारी र हत्यारालाई कारवाही हो । बिधि प्रधान होस्, व्यक्ति प्रभाव नहोस् भन्ने नै हो ।
यसवर्षको दशैं जसरी बलात्कारी र हत्यारा हाँसेर बित्यो, दीपावलीको मुख्य पर्व भाइटीका पनि बलात्कारी र हत्यारा हाँसेरै बित्यो । भाइले बहिनीहरुको रक्षा गर्न, दिदीबहिनीमाथि बलात्कार र तिनको हत्या गर्नेलाई कडा दण्ड दिलाउन नसकेको यसवर्षको भाइटीकाको खासै महिमा रहेन, खाली सत्तामा बसेका, सिंहदरवार, शीतल निवासमा आराम फर्माइरहेकाहरुले शुभकामना दिने कर्मकाण्डी दीपावलीमा सिमित रह्यो २०७५ सालको दशैं, तिहार । नेपालीको महान चाड, परिवारजन गाँसेर खुशी बाँडेर मनाउने दशैं–तिहार खल्लो रुपमा सकिएको छ । दशै–तिहार सकियो, आमनागरिकको मनमा अपराधीतत्वले फैलाएको आतंक सकिएको छैन । त्यो आतंक रोक्ने, आतंककारीलाई दण्ड दिलाउने र सुरक्षाको प्रत्याभूति दिने जिम्मा राज्यको हो । राज्य छ भन्ने अनुभूति हुनुपर्यो ।