
नौसिखा कम्युनिष्टहरु राजाको हातको टीका लगाउनु हुन्न भन्छन् । श्री ३ को पारामा टीका लगाइदिने श्री ६ जस्ता राष्ट्रपति प्रधानमन्त्रीलाई सही सुझाव दिन सक्दैनन् । किन ? नागरिकको इज्जत गरेमात्र नागरिक समाज सम्मानित हुन्छ, संविधान सम्पोषित हुन्छ, संस्कार र धर्मको पनि रक्षा हुन्छ भन्ने कुरा सिकाउँदैनन् । प्रधानमन्त्री निवासलाई पार्टी कार्यालय, कूलघर र पाँचदिनसम्म टीका लगाउने थलो बनाउँदा पनि नेकपाका कार्यकर्ता, थिंकटैंकहरुलाई पाच्य छ । किन रे भन्दा पार्टी अध्यक्षले दुई तिहाईको सरकार छ, एक दिनमा कहाँ टीका लगाएर सकिन्छ र ? प्रधानमन्त्री, राष्ट्रपति निवासमा कुन जनताको भीड गयो टीका लगाउन, टीभीले देखाइहाल्यो नि । एक दिन टीका लगाए पुग्नेमा सरकारी कर्मचारीलाई कार्यालय जानुभन्दा प्रधानमन्त्रीकोमा टीका लगायो घरतिर गयो, सजिलो पारिदिए प्रधानमन्त्रीले । यिनै प्रधानमन्त्रीको ओठमै झुण्डिएको छ– समृद्ध नेपाल, सुखी नेपाली । समृद्धि र सुशासन सरकारको एकमात्र एजेण्डा । जता हेर्यो कूशासन र भ्रष्टाचारबाहेक केही छैन, यो सरकारले जनताको अपेक्षा केही पूरा गरेन । अव त भन्न थालेको छ, जादूको छडी छ र छुनेबित्तिकै छु मन्तर हुन ? कुन राम्रो कामको थालनी भएको छ ? यतिसम्म यो सरकार देखाउन सक्दैन । यहीकारण यिनका पछाडिभन्दा ज्ञानेन्द्र शाहका घरमा भीड बढी देखियो । आमनागरिकले तिनै ज्ञानेन्द्र शाहलाई गुहारे । ज्ञानेन्द्र शाहले पनि जनताको कुरा दोहोर्याएर भनेका छन्– मसँग भएकासहमतिको पालना गर । मैले जेजस्तो तीतो कुरा बोलेको छु, ती सबै जनताले मलाई भनेका कुरा हुन्, दोहोर्याएको मात्र हो ।
जेहोस्, कम्युनिष्टहरु हिन्दुधर्मप्रति कट्टर भएर निस्केका छन् । हिजो जे भूल भयो, सच्याउँ । नेपाललाई हिन्दुराष्ट्र घोषणा गरौं । यसमा देरी किन गर्ने ? जब सबै धर्मप्रति समभाव राख्ने यो धर्म दुई तिहाईको सरकार, राष्ट्रपति, सुरक्षा निकायदेखि सबै संवैधानिक अंगहरुलाई मान्य छ भने संविधानमा धर्मनिरपेक्षता किन लेखिराख्ने ? जे पनि संशोधन गर्नसक्ने बहुमत भएकाले अव विश्वकै एकमात्र हिन्दुराष्ट्र नेपालको पहिचान कायम गराउने सुनौलो अवसर नेकपाको सरकारलाई प्राप्त भएको छ । यो अवसरको उपयोग गरेर नेकपाको सरकारले नेपाललाई हिन्दुराष्ट्र घोषणा गरायो भने यसले प्राप्त गरेको लोकप्रिय मत घट्ने छैन । अध्यक्ष केपी ओलीको ओमकार परिवारले गुणगान नै मान्नेछन् । चेतना रहोस् ।