Advertisement Banner
Advertisement Banner

०८ सोमबार, बैशाख २०८२23rd July 2024, 10:09:55 am

दुईतिहाईको सरकारको दुर्गति

१५ सोमबार , आश्विन २०७५७ बर्ष अगाडि

दुई तिहाईको सरकारभन्दा बलियो सरकारको कल्पना गर्न सकिन्न । तर दुई तिहाईको सरकारको यो दुर्गति । यस्तो दुर्गति त ९ महिने सरकारको पनि भएन । कतिसम्म गैरजिम्मेवार हो यो सरकार ?
सिण्डिकेट जस्ताको तस्तै छ । यातायात मालिकले के अडान लिए, दुई तिहाईको सरकार कर्कलो गलेजस्तो गलेनमात्र भाडा बृद्धि गर्न बाध्य भयो, त्यसपछि दशैंको बुकिङ् खोले व्यवसायीले । ३ दिन पेट्रोलियम पदार्थ ढुवानी रोके टेंकर ड्राइभरले, देशै ठप्प भयो, मानौं देशमा कुनै सरकार नै छैन । दुई तिहाईको सरकार नराम्ररी असफल हुनपुग्यो ।
सरकार आफै असफल भयो कि असफल पार्ने साजिस भयो । हरेक प्रकारका साजिस चिरेर सुशासन ल्याउनसक्ने पो दुई तिहाईको सरकार हुन्छ । यो सरकार त पुङ्माङ जस्तो भयो । दुबैतिर प्वाल परेको । दशैंको बेलामा भाडा बृद्धि गरेर जनताको काँधमा भारमाथि भार थप्ने ? जनउत्तरदायी सरकारले एकातिर कर बृद्धि गरेको छ, अर्कोतिर भाउबृद्धि । यो सरकार जनताको सरकार भन्न सुहाउने सरकार नै भएन । त्यसमाथि सरकारको बिरोध गर्न पाइन्नरे, जसले बिरोध गर्छ अरिंगालजसरी जाइलाग्नु भनेर स्वयम् नेकपामा अध्यक्ष तथा प्रधानमन्त्रीले बोल्छन् भने उनी कुन तहका प्रधानमन्त्री हुन् ? यो सभ्य भाषा हो र ?
भूकम्प पीडितले राहत पाएनन्, बाढी पीडित पीडामा छन्, त्यसमाथि गरीवी पहिचानपत्र समेत धनीका हात हातमा बितरण भएछ । नियम, कानुनको पालना गर्ने यो सरकारसँग सफा नियत नै छैन । नियत नै नभएपछि सही काम र सुशासन हुने सवालै भएन । नेपाल बिग्रेको नियत र नैतिकता नभएर हो । दुई तिहाईको सरकारले लोकलज्जा कायम राख्ला भनेको त यो सरकार पनि उही कानै चिरिएको साबित भयो ।
सडक टालटुल पार्न प्रधानमन्त्रीले दिएको आदेशको समेत पालना भएन । वषौंदेखि आमनागरिक धूलो र खाल्डाखुल्डीमा हिड्न बाध्य छन् । स्वास्थ्य दिनदिनै बिग्रदै गएको छ जनताको । सरकारले जनताको स्वास्थ्य, पिउने पानी, शिक्षा र रोजगारीजस्ता सामान्य विषयमा समेत ध्यान दिन सक्दैन भने यस्तो सरकारले समृद्ध कसरी ल्याउन सक्छ ?
काम गर्न नसक्ने, स्वयम् नेकपामा अर्का अध्यक्ष पुष्पकमल दाहाल देशमा बढ्दै गएको बलात्कार र हत्याका प्रकरणमा सरकार असफल पार्ने षडयन्त्र भनेर पन्छिन खोजेका छन् । सरकारको कमाण्ड लिएको पार्टीका अध्यक्ष र प्रधानमन्त्री दुबैले अलोकतान्त्रिक भाषा बोलिरहेका छन्, यसबाट के थाहा हुन्छ भने यिनको हातमा न पार्टी छ, न सरकार, न राज्य सञ्चालन गर्ने कमाण्ड नै छ । यी दुबैजना हतास र अतास मनस्थितिमा रहेका छन् । यस्तो मनस्थितिमा रहेको सरकारले जनताप्रतिको दायित्व निर्वाह गर्छ भनेर पत्याउन सकिन्न । षडयन्त्र भएको छ भने कसले कहाँबाट गरेको छ । त्यति पत्ता लगाएर नियन्त्रण गर्न र आफ्नो क्षमता देखाउन नसक्ने पनि सरकार हुन्छ र ? भन्नलाई दुई तिहाईको सरकार, यति शक्तिशाली सरकारले जनताको जनजिविकाप्रति उदासीन हुनु भनेको हदैसम्मको गैरजिम्मेवारीपन हो । यो असफल सरकार हो ।