
लीक्वान यु तिनै व्यक्ति हुन् जसले अराजक सिंगापुर अर्थात सिँगानपुरको स्थितिमा सिंगापुरलाई निर्माण गर्छु, सम्पन्न बनाउँछु भन्ने दृढताका साथ अगाडि आए र बेनिभोलेन्ट लिडरका रुपमा काम थालेका हुन् । मानवाधिकारवादी, प्रजातन्त्रवादीहरुले उनको धुवाँधार बिरोध गरे, अधिनायकवादी भयो, निरंकूता लाद्यो भनेर यति धेरै आलोचना गरे कि उनलाई काम गर्न बाधामाथि बाधा हालियो । तर, ली क्वान युले कसैको वास्ता गरेनन् र देशभक्त हिटलरका रुपमा काम गरे । सबैलाई कामप्रति प्रेरित गर्दै गए । जसको कारण सिंगापुर आज एसियाको युरोप भनेर चिनिन्छ । सिंगापुर सम्पन्न छ, सिंगापुर सबैका लागि विकासको मोडल बनेको छ । देश विकास गर्छु भनेर अठोट गरेपछि गर्न सकिन्छ, इच्छाशक्ति चाहिने रहेछ । यसकारण त ली क्वान युको देहान्त भएपछि अमेरिकाले समेत शोक व्यक्त गर्यो, सारा विश्वले ली क्वान युको प्रशंसा गर्यो, श्रद्धाञ्जली चढायो । नेता भनेको यस्तो हुनुपर्छ, जसले देश र जनताका लागि जीवन अर्पण गर्यो ।
तिनै ली क्वान यु र सिंगापुरको विकासको मोडलमा गण्डकी प्रदेश चिन्तनमा लागेको छ । कसरी यो प्रदेशलाई सम्पन्न बनाउने, कसरी यो प्रदेशलाई खुशहाल, सुखी बनाउने भन्ने यो चिन्तन गर्ने मुख्यमन्त्रीलाइ धन्यावदा दिनुपर्छ । अन्य प्रदेशहरुले पनि यसैगरी सिंगापुर अथवा ताइवानी विकासको मोडललाई अनुकरण गर्न सके भने सिंगो नेपालको प्रगति यसैबाट हुनजानेछ । घर सफा भए, समाज सफा हुन्छ । समाज समाज मिलेर सहर र सिंगो देश सफा र सुखी हुने हो । यसकारण राजनीतिक तानातानमा नलागी अव देश विकासमा लाग्न जरुरी छ । सुशासन र समृद्धिको साँचो भनेकै इमानदारिता हो । इमानदार हुन्छौं भनेर गण्डकी प्रदेशले जुन अठोट गरेको छ र विकासका लागि सिंगापुर मोडलको अनुकरण गर्ने जुन चिन्तन सुरु भएको छ, यसमा कत्ति पनि ढिला नगरी गण्डकी प्रदेशले सिंगापुर मोडलमा जान जरुरी छ । यदि गण्डकी प्रदेशमा केन्द्र र सम्बन्धित पार्टीको दबाब रहेन, प्रभाव हालेन भने सबैभन्दा पहिले गण्डकी प्रदेश आत्मनिर्भर र विकासशील हुने पक्का छ ।